सत्रकिलो दुर्घटना

दुई बच्चा घरमा छोडेर मर्दी हिमाल घुमेर फर्किदै गरेका सन्तोष–सबिना बाटोमै अस्ताए 


०१:२६ बजे

काठमाडौं । नारायणगढ–मुग्लिन सडकको चितवन भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा शुक्रबार बिहान भएको दुर्घटनामा निधन भएका पाँचै जनाको सनाखत भएको छ । दुर्घटनामा ज्यान गुमाउनेमध्ये सन्तोष भुसाल र सबिना भुसालको दम्पती समेत छन् ।

तिहार सकेर मार्दी हिमाल घुम्न निस्किएका नवलपरासी विनयी त्रिवेणी नगरपालिका–४ धर्साहका भुसाल दम्पती घुमेर घर फर्किदै  बीच बाटोमै अस्ताए । तिहारको भाइटीकाको भोलिपल्ट (कार्तिक १९ गते) घुम्न निस्किएका सन्तोष र सबिना दुर्घटनामा परेर सदाका लागि विदा भएका छन् । तीन दिन घुमेर बिहीबार  पोखरा आइपुगेका उनीहरू राति नै इलेक्ट्रिक भ्यानबाट घर फर्कंदै थिए । पोखरा आइपुगेपछि सन्तोषकी श्रीमती सबिनाले आफ्नो भाइलाई ८ बजेतिर फोन गरेर पोखरा आइपुगेको जानकारी गराएको मृतक सन्तोषका दाइ नाता पर्ने प्रकाश भुसालले जानकारी दिए । पोखराबाट नारायणगढसम्म आउने गाडी पाइएको र केहीबेरमा खाना खाएर हिँड्ने बताउँदै फोनमा कुराकानी गरेकी थिइन् सबिनाले ।

उज्यालो हुन नपाउँदै सवारी दुर्घटनाको खबरले सबिनाको परिवार झस्कियो । दुर्घटनामा परेर सन्तोष र सबिना दुवै जनाको ज्यान गएपछि धर्साह यतिबेला शोक परेको छ । पोखराबाट नारायणगढतर्फ आउँदै गरेको बा प्र ०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक भ्यानमा सवार थिए उनीहरू । भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा आइपुगेपछि उनीहरू चढेको माइक्रो एक्कासी बसमा गएर ठोक्कियो ।

विराटनगरबाट काठमाडौं जाँदै गरेको बा प्र ०३–००१ ख २८१२ नम्बरको बसमा माइक्रो ठक्कर खाँदा भुषाल दम्पतीसहित अन्य ३ जनाको ज्यान गयो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा ज्यान गएको हो । विनयी त्रिवेणी नगरपालिका–४ का वडाध्यक्ष साहिल श्रेष्ठका अनुसार उनीहरू दुवै जना शिक्षक हुन् । सोही वडामा रहेको मणिसिद्ध आधारभूत विद्यालय, धर्साहमा कार्यरत थिए । सन्तोष राहत कोटाको शिक्षकको रुपमा कार्यरत थिए भने सबिना करार शिक्षक थिइन् । उनीहरूका दुई सन्तान छन् । ९ वर्षकी छोरी र ५ वर्षको छोरा रहेका सन्तोषका दाइ प्रकाशले जानकारी दिए । उनका अनुसार परिवारलाई छोराछोरी हेर्न छोडेर दुई जना मात्रै घुम्न निस्किएका थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७