चितवन दुर्घटना अपडेट : मृतक पाँचै जनाको सनाखत


१२:२२ बजे

चितवन । नारायणगढ–मुग्लिन सडकको चितवन भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा आज (शुक्रबार) बिहान भएको दुर्घटनामा मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ ।

निधन हुनेमा गोरखा आरुघाट गाउँपालिका–१ मान्बुका अन्दाजी ४२ वर्षका राजबहादुर गुरुङ र दुर्घटनाग्रस्त माइक्रोबसका चालक चितवन खैरहनी नगरपालिका–४ का अन्दाजी ४० वर्षका अनोज अधिकारी रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी भारत घर भई कास्की जिल्ला पोखरा महानगरपालिका–९ मा किराना पसल चलाउने ३६ वर्षका राजकुमार साहको पनि निधन भएको चितवन प्रहरीले जनाएको छ ।

मृतक अन्य दुई जनामा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बिनयीत्रिवेणी गाउँपालिका–४ बगैंचाका ३५ वर्षका सन्तोष भुसाल र ३३ वर्षकी सबिना भुसाल रहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रहेका डीएसपी भेषराज रिजालले बताए । सत्रकिलोमा बिहान ३ बजेतिर मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा प्र ०६–००१ ज ०२९८ नम्बरको इभी गाडी माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा प्र ३–००१ ख २८१२ नम्बरको ठूलो बस एक आपसमा ठक्कर खाएका थिए ।

निधन भएका सबैजना माइक्रोबसका चालक र यात्रुहरु हुन् । माइक्रोबसका थप एकजना यात्रु गम्भीर घाइते छन्।उनको चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । पोखराबाट छुटेको माइक्रोबसमा चालकसहित ६ जना रहेको चितवन प्रहरीले जनाएको छ । ठूलो बसका चालकसहित ६ जना घाइते भएका थिए । सामान्य घाइते भएका पाँच जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । मध्यम घाइते भएका बसका चालकको शिक्षण अस्पतालमा नै उपचार भइरहेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७