पाटन अस्पतालमा तोड्फोड, मानव अङ्ग झिकेको आरोप


२०७५ असार ६ बुधबार ००:५२ बजे
काठमाडौं, ६ असार । एपेण्डिक्सको शल्यक्रिया गर्ने क्रममा ललितपुर छम्पीका १७ वर्षीय क्रिस्टल मगरको मृत्यु भएपछि, पाटन अस्पतालमा तोड्फोड भएको थियो । आक्रोशित समूहले अस्पतालको गेटसँगैको सोधपुछ कक्ष, गार्डको कक्ष, प्रशासन कक्ष भएको तल्लाका झ्यालका सिसासहित पार्किङ्गस्थलमा राखिएका केही निजी कारमा पनि तोडफोड गरेका छन् । कक्षा–११ को परीक्षा दिएर बसेका किशोरको उपचारका क्रममा आइतबार मृत्यु भएपछि तनावग्रस्त पाटन अस्पतालमा, पीडित पक्ष र अस्पताल प्रशासनबीच मंगलबार राति ४ बुँदे सहमति भएको छ । सहमतिपछि परिवारले मृतकको शव आज बजेपछि बुझ्ने भएका छन् । विवाद मिलाउन ललितपुर जिल्ला समन्वय समितिसहित बसेको वार्ताले, ४ बुँदे सहमति गराएको हो । छम्पीका १७ वर्षे मगरको मृत्यु भएको बिषयमा जाँचबुझका लागि पीडित पक्षबाट नर्भिक अस्पतालका एक जना चिकित्सकसहितको छानबिन समिति गठन गर्ने, शल्यक्रियामा संलग्न चिकित्सक दोषी ठहरिएमा कार्बाही गर्ने, उपचारमा लागेको खर्च मिनाहा गर्ने, पीडित परिवारका एक जनालाई योग्यताका आधारमा अस्पतालमै रोजगारी दिने र तोड्फोडमा संलग्नलाई रिहा गर्ने सहमति भएको छ । सहमतिसँगै अस्पताल तोड्फोडमा संलग्न रहेको आरोपमा हिरासतमा राखिएका मृतकका ७ जना साथीलाई जावलाखेल प्रहरीले मंगलबार राति अबेर रिहा गरेको छ । यस्तो थियो घटना ललितपुर बुङमतीको आदर्श शौल उच्च माविमा अध्ययनरत क्रिस्टल मगर कक्षा–११ को जाँच दिएर बसेका थिए । पेट दुख्ने समस्या भएपछि उनलाई दुई हप्ताअघि अभिभावकले जँचाउन पाटन अस्पताल ल्याएका थिए । अस्पतालले ग्याष्ट्रिकको समस्या भन्दै औषधि दिएर पठायो । तर उनको रोग विसेक भएन । यो अवधिमा क्रिस्टलको परिवारले उनलाई अस्पताल ल्याउने लैजाने गरिरह्यो । गत शुक्रबार असैह्य पीडा भएपछि उनलाई फेरि अस्पताल ल्याइयो । ग्याष्ट्रिकको औषधि दिंदै आएको अस्पतालले तुरुन्तै भर्ना लियो । शनिबार बिरामीको पेट एक्कासी फुलेपछि क्रिस्टलको परिवार आतियो । पेट फुलेपछि मात्रै अस्पतालले एपेण्डिक्सको शल्यक्रिया गर्नुपर्ने जानकारी गरायो । अप्रेशन थिएटरमा लगेदेखि नै आफन्तलाई भेट्न दिएन । बिरामीको अबस्था जटिल बनेको भन्दै क्रिस्टललाई आइसियूमा राखिएको बताइयो । तर, आइतबार बिहान अस्पतालले बिरामीको मृत्यु भएको जानकारी दियो । शुक्रबार नै भर्ना भएका एपेण्डिसाइटिसका बिरामीको अस्पतालले लापार्वाहीपूर्वक ढिला शल्यक्रिया गर्दा एपेण्डिक्स फुटेर मृत्यु भएको र मृतकको शरीरका ठाउँ–ठाउँमा चिरिएको भन्दै आफन्त र मृतकका साथी तोडफोडमा उत्रिए । मृतक क्रिस्टलकी माइजु पूर्णिमा शाही भन्छिन्, ‘पटक–पटक पेट दुखेको भन्दै अस्पतालमा आउने जाने भइरहँदा पनि अस्पतालले लापार्वाही गरेका कारण क्रिस्टलको ज्यान गएको हो ।’ क्रिस्टलको मृत्यु भएपछि पनि तत्काल हेर्न नदिएको, मृतकको दुवै आखाँमा पट्टि लगाएको र पेटका बिभिन्न भागमा चिरेको भन्दै अस्पतालले अङ्ग निकालको हुनसक्ने आफन्तको आरोप छ । क्रिस्टलको मृत्यु भए लगत्तै आफन्त र उनका साथीले तोडफोड गर्न थालेपछि, अस्पताल प्रशासनले प्रहरी बोलायो । ७ जना पक्राउ परे । कडा सुरक्षा घेराबीच भएको वार्तामा ४ बुँदे सहमति भएसँगै आफन्तहरु शव बुझ्न तयार भएका हुन् । अस्पताल प्रशासनले भने घटनाबारे जाँचबुझ समिति नै गठन भएकाले, समितिको प्रतिवेदन नआएसम्म नबोल्ने जवाफ दिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७