त्रिभुवन विमानस्थलबाट रोकिएन सुन तस्करी : एक किलो २६० ग्राम सुनसहित महिला पक्राउ
काठमाडौं । सरकारले कडाइ गरे पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी भने अझै रोकिन सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार इलाका (यात्रु जाँच पास) बाट एक किलो २६० ग्राम सुन फेरि बरामद भएको छ ।
विमानस्थल भन्सार कार्यालय तथा सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेशको संयुक्त टोलीले आगन्तुकको ब्यागेज पुनः चेकजाँच गर्ने क्रममा एक किलो २६० ग्राम (प्याकेजसहित) सुन जस्तो पदार्थ बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
उक्त सुनसहित थाइ एयरमार्फत बैंककबाट आएकी ३७ बर्षीया भारतीय महिला सुमित्रा देवी लक्ष्मण रामलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अर्ध तरल अवस्थामा तीन छुट्टाछुट्टै पोकामा प्लाष्टिकले बेरेको अवस्थामा सो पदार्थ बरामद भएको हो । उनलाई थप अनुसन्धानको लागि गौशाला प्रहरी बृत्तमा बुझाइएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।