निषेधित क्षेत्रमा अनसन बसेका पूर्व मुख्यमन्त्री कार्कीलाई हटाउन खोज्दा झडप
केदार कार्की प्रहरी नियन्त्रणमा
विराटनगर । निषेधित क्षेत्रमा अनसन बसेका कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीलाइ हटाउन प्रहरीले बल प्रयोग गरेको छ । विराटनगरस्थित प्रदेशसभा सचिवालय छेउमै अनसन बसेका उनलाई मंगलवार साँझ प्रहरीले हटाउन खोज्दा झडपको अवस्था सिर्जना भएको छ ।
पूर्व मुख्यमन्त्री कार्कीले मंगलबार दिउँसो ४ बजेबाट निषेधित क्षेत्रमै अनसन शुरू गरेका थिए । उनको अनसनमा पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री शमशेर राईले समेत साथ दिएका छन् । यसअघि पूर्व मुख्यमन्त्री कार्कीले आमरण अनसन बस्ने भनेको क्षेत्रमा जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेको थियो । आफ्नो कार्यकालमा शुरू गरेका केही कार्यक्रमको निरन्तरताको माग गर्दै कार्कीले अनसन बस्ने घोषणा गरेका हुन् । तर जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षामा सम्भावित असर पर्न सक्ने भन्दै विराटनगरका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार मंगलवार दिउँसो ३ बजेदेखि अर्को सूचना नआएसम्म निषेधाज्ञा लागू गरिएको हो । तर शुरूमा कार्कीसहितको टोली निषेधित क्षेत्रमा अनसन बस्दा प्रहरीले कुनै हस्तक्षेप गरेको थिएन । साँझमा भने बल प्रयोग गरेको हो । कार्की सत्तारुढ दल नेपाली कांग्रेसका नेता हुन् । प्रदेश सभा अगाडि बनस्खण्डी मन्दिर छेउमा अनसन बसेका कार्कीलाई प्रहरीले बल प्रयोग गरेर अनसनस्थलबाट हटाउन खोज्दा प्रहरीसँग झडप भएको छ ।
यसैबीच कोशीका पूर्व मुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले अनसनस्थलबाट नियन्त्रणमा लिएको छ । अनसनस्थलबाट अहिले भर्खरै नियन्त्रणमा लिएर प्रहरीले भ्यानमा राखेर कार्कीलाई जिल्ला प्रहरी कार्यालय मोरङतिर लगेको छ ।
अनसनस्थलमा कार्कीको समर्थन गर्न पुगेका विराटनगर महानगरका मेयर नागेश कोइरालाले प्रहरी दमनको भत्र्सना गरेका छन् । प्रशासनले अनावश्यक रूपमा दमन गरेको बताउँदै विराटनगरका मेयर नागेश कोइरालाले भने, ‘हामी यस्तो कदमको शान्तिपूर्ण रूपमा प्रतिवाद गर्नेछौं ।’