३३ बर्ष पुरानो मुद्दामा कांग्रेस सांसद केसी जेल चलान 


०५:४८ बजे

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी (डीबी) कारागार चलान भएको छन् । प्रदेश सांसद केसी अदालत उपस्थित भएको र अदालतले तोकेको सजाय भुक्तान गर्न कारागार पठाएको रुकुम पूर्वका प्रहरी प्रमुख डिएसपी माधव खरेले जानकारी दिएका छन् । उनले रुकुम जिल्ला अदालत पुगेर केसीले आइतबार दिउँसो आत्मसमर्पण गरेका हुन् ।

रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले पनि प्रदेश सांसद केसी आफै अदालतमा उपस्थित भएको जानकारी दिंदै भने, ‘उहाँ अदालतमा उपस्थित भएपछि अदालतले तोकिएको सजाय भुक्तान गर्नका लागि कारागार चलान गरको छ ।’ प्रहरीले केसीलाई काठमाडौंबाट नियन्त्रणमा लिएको स्रोत बताउँछ । उनलाई प्रहरीले रूकुम पूर्व ल्याएको थियो । तर प्रहरीले केसी आफै अदालतमा उपस्थित भएको दाबी गरेको छ ।

३३ वर्ष पहिले उनलाई साविक रूकुम जिल्ला अदालतले कीर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो । त्यसयता उनी फरार सूचीमा थिए । श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले कीर्ते गरेको अभियोगमा साविक रूकुम जिल्ला अदालतमा मुद्दा परेको र त्यसमा उनी दोषी ठहर भई अदालतले एक वर्ष कैद र दुई हजार रुपैयाँ जरिवाना गरेको थियो । अहिलेसम्म उनले सजाय भुक्तान गरेका थिएनन् ।

गत निर्वाचनमा केसी नेपाली कांग्रेसको तर्फबाट रूकुम पूर्वको प्रदेश सभा क्षेत्र १ को १ बाट निर्वाचित भएका थिए । राजनीतिमा लाग्नुपूर्व उनी अवैध मार्ग हुँदै मानिस  अमेरिका पठाउने काममा सक्रिय रहेको आरोप थियो ।
कांग्रेसबाट प्रतिनिधित्व गर्दै बाँकेबाट निर्वाचित लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री बादसाह कुर्मी र रुकुम पूर्वका केसीलाई कानुनी कारबाही गर्न मागसहित नेपाल कम्युनिष्ट पार्टी (बहुमत) दाङले मुख्यमन्त्री चेतनारायण आचार्यलाई ज्ञापन पत्र बुझाउनेदेखि लुम्बिनी प्रदेशका प्रमुख जिल्ला अधिकारीहरूलाई ज्ञापन पत्र बुझाएका थिए ।

२०७५ साल वैशाख ३१ गते रूकुम पश्चिम जिल्ला अदालतले सांसद केसीविरूद्ध २०४८ साल असार ९ गते भएको फैसला अनुसार कारबाही नभएको भन्दै रूकुम पूर्वी जिल्ला अदालतको नाममा बाँकी रहेको लगतबारे पत्राचार गरेको थियो । रूकुम पूर्वी जिल्ला अदालतका तत्कालीन शाखा अधिकृत राधाकृष्ण रिजालका अनुसार सोही वर्ष साउनमा जिल्ला अदालतले जिल्ला प्रहरी रूकुम पूर्वमा फैसला कार्यान्वयन हुन बाँकी लगत पठाएको थियो । केसी कारागार चलान भएसँगै उनको पदका विषयमा चर्चा सुरु भएको छ ।

संविधानको धारा १७८ मा प्रदेश सभा सदस्यका लागि योग्यता तोकिएको छ । जसको ‘घ’ मा भनिएको छ, ‘नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको ।’ सांसद केसी कारागार चलान भएको पत्र सभामुखलाई प्राप्त भएपछि स्वतः पदमुक्त हुने कानुनी प्रावधान रहेको लुम्बिनी प्रदेश संसद सचिवालयका एक कर्मचारी बताउँछन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७