प्रतिनिधि सभामा सत्य निरुपण विधेयक पेस
काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन–२०८१ प्रतिनिधि सभामा पेस गरिएको छ ।
आज (मंगलबार) को प्रतिनिधि सभाको बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले प्रतिवेदन सभामा प्रस्तुत गरेकी हुन् । बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै उनले विधेयक पारित गर्ने अवस्थासम्म सबै एक ठाउँमा उभिए जसरी नै पारित गरी कार्यान्वयन गर्नेसम्म एकै ठाउँमा उभिनुपर्ने बताइन् ।
सबै राजनीतिक दलहरू एक ठाउँमा उभिए आगामी दिनमा आइपर्ने जस्तोसुकै चुनौती पनि सामना गर्न सकिने उनले बताएकी छन् । विधेयक सदनबाट सर्वसम्मतिले पारित गर्न आग्रह गर्दै उनले यसबाट नेपालको शान्ति प्रक्रिया सफल बनाउन राम्रो कानुन बन्ने सदनमा बताइन् । विधेयक सदनबाट सर्वसम्मतिले पारित भए देशमा द्वन्द्वको अवस्था नआउने उनको भनाइ थियो ।
लामो रस्साकस्सीपछि दलहरूबीच टिआरसी विधेयकका प्रावधानमा सहमति जुटेको छ। दलहरूबीचको सहमतिसँगै विधेयक समितिबाट सर्वसम्मत पारित भइसकेको छ । अब बुधबार संसद्मा छलफल गरेर टिआरसी विधेयक पारित गर्ने तयारी छ ।
टिआरसीमा छलफल गर्न समितिले उपसमिति पनि बनाएको थियो । प्रतिवेदन तयार गर्दा समितिका ६ वटा र उपसमितिका १९ वटा बैठक बसेको, ३३ जनाको संशोधनकर्तामध्ये २१ जनासँग छलफल गरेको पनि सभापति सुवेदीले जानकारी दिइन् । आयोगका पूर्वपदाधिकारी तथा द्वन्द्वपीडितहरू गरी ३९ जनासँग छलफल गरेर विधेयक प्रतिवेदनलाई अन्तिम रुप दिइएको उनले बताइन् ।
.gif)

.png)

