नुवाकोट हेलिकोप्टर दुर्घटनाबारे क्यान : ‘भिएफआर’ नियम उल्लंघन गर्नु पाइलटको कमजोरी


२०८१ श्रावण २४ बिहीबार १२:४५ बजे

काठमाडौं ।  एयर डाइनेस्टीको हेलिकोप्टर बुधबार नुवाकोटमा दुर्घटना हुनुको मुख्य कारणमा भीएफआर (भिजुअल फ्लाइट रुल्स) उल्लंघन रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज (बिहीबार) वैठकमा महानिर्देशक अधिकारीले फ्लाइटले बादलभित्र प्रवेश गर्न नहुने र आँखाले देख्न नसकिने ठाउँमा प्रवेश गर्न नहुने नियम उल्लंघन गर्दा दुर्घटना भएको प्रारम्भिक रूपमा देखिएको बताएका छन् । मन्त्रिपरिषद्ले गठन गरेको छानबिन समितिले विस्तृत विवरण दिनेमा आफू विश्वस्त रहेको बताउँदै महानिर्देशक अधिकारीले सरसर्ती हेर्दा खराब मौसम रहेको ठाउँमा हेलिकप्टर प्रवेश गर्नु नै दुर्घटनाको कारण प्रारम्मिक देखिएको बताएका छन् । 

‘हेलिकोप्टर दुर्घटनाको रुट कज सरसर्ती हेर्दा फेरि छानबिन आयोगले बताउँला, ब्याड वेदरमा प्रवेश गरेको, बादलभित्र प्रवेश गरेको कारणले फर्किने क्रममा देब्रे घुम्दा दुर्घटना भएको जस्तो देखिन्छ । फ्लाइटिङ कमाण्डले सिभिल एभिएसनको भिजुल फ्लाइट रुलअनुसार यसरी बादलभित्र छिर्नु अथवा आफूले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित हो । यो कानुनले बर्जित गरेको विषय हो । रुट कज भनेको ब्रिज अफ द भिजुअल फ्लाइट रुल हो,’ उनले भने ।

विहीबार विहान दुर्घटनास्थल पुग्दा पनि त्यो देखिएको उनले बताएका छन् ।  नेपालमा डाँडाकाँडा भएकाले त्यहाँ अनुमानयोग्य मौसम नहुने बताए । काठमाडौंबाट स्याफ्रुबेंसीका लागि उडेको एयर डाइनेस्टी ९एन–एजेडी कलसाइनको हेलिकप्टर नुवाकोट, शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा दुर्घटना भएको थियो । दुर्घटनामा एयर डाइनेस्टीका वरिष्ठ क्याप्टेन अरुण मल्ल, चिनियाँ नागरिकहरू टाङ जुटाओ, वु यियाओ, ली जेई र सेई जिमिङको मृत्यु भएको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७