अर्जेन्टिनासँग ५–३ ले पराजीत हुँदै भारत विश्वकपको उपाधि दौडबाट बाहिरियो
अन्तिम दुई मिनेटमा दुई गोल गरे पनि भारतलाई बचाउन सकेन
काठमाडौँ : भारतीय पुरुष हक्की टोली एफआईएच विश्वकपको उपाधि दौडबाट बाहिरिएको छ। सोमबार नेदरल्यान्ड्सको एम्स्टेलभिनस्थित वागेनर रंगशालामा भएको दोस्रो चरणको खेलमा भारत अर्जेन्टिनासँग ५–३ गोलले पराजित भएपछि सेमिफाइनल यात्रा समाप्त भएको हो।
सेमिफाइनलमा पुग्न भारतलाई कम्तीमा दुई गोलको अन्तरले जित आवश्यक थियो। तर खेल सुरु भएको पहिलो मिनेटमै गोल खाएपछि भारत दबाबमा परेको थियो। अर्जेन्टिनाले त्यसपछि पनि आक्रामक खेललाई निरन्तरता दिँदै पहिलो हाफमै ३–१ को अग्रता बनायो। अर्जेन्टिनाका लागि थोमस डोमेनेले दुई गोल गरे। जोआकिन टोस्कानी, निकोलास डेला टोरे र लुकास टोस्कानीले एक–एक गोल थपे।
भारतका सुखजीत सिंहले दुई गोल गरे भने हार्दिक सिंहले पेनाल्टी स्ट्रोकमार्फत एक गोल गरे। खेलको अन्तिम दुई मिनेटमा भारतले लगातार दुई गोल गर्दै पुनरागमनको प्रयास गरे पनि अर्जेन्टिनाको अग्रता तोड्न सकेन। यस हारसँगै भारत विश्वकपको सेमिफाइनल दौडबाट बाहिरिएको छ।
अब भारतले प्रतियोगितामा सातौँ–आठौँ स्थानका लागि बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ। अर्जेन्टिनाले भने दोस्रो चरणमा ६ अंक जोड्दै सेमिफाइनल प्रवेशको सम्भावना कायमै राखेको छ। अब उसको सेमिफाइनल यात्रा अन्य खेलको नतिजामा निर्भर हुनेछ।
.gif)

.png)

