मुग्लिन–मलेखु र बेंसीसहर–चामे सडक अवरुद्ध


२३:३७ बजे

चितवन । पहिरोका कारण मुग्लिन–मलेखु सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पृथ्वी राजमार्गअन्तर्गत चितवनको  इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

पहिरो पञ्छाएर सुचारु रुपमा सडक सञ्चालन गर्ने प्रयास जारी रहेको प्रहरी निरीक्षक भण्डारीले बताए । सडकमा ठूलो पहिरो खसेकाले त्यसलाई  पन्छाउन केही समय लाग्ने उनले बताए । 
 

बेंसीसहर–चामे सडक अवरुद्ध
पहिरोले बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाले गए राति यस सडकअन्तर्गत बेंसीसहर नगरपालिका–६ खरखरे भिरमा र मस्र्याङ्दी गाउँपालिका–३ खुदी नजिक पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईंले खरखरे भिरको पहिरो यतिबेला हटाउन सफल भए पनि खुदी नजिक खसेको पहिरो हटाउन बाँकी रहेको उनले बताए । पैसठ्ठी किलोमिटर लामो यो सडक अवरुद्ध हुँदा मनाङ र लमजुङका सर्वसाधारण प्रभावित भएका छन् । 
 

अवरुद्ध नगरकोट सडक सञ्चालन
लगातारको वर्षापछि खसेको पहिरोले मङ्गलबार अवरुद्ध भएको भक्तपुर–नगरकोट सडक केहीबेर अघिदेखि सञ्चालन भएको छ । चाँगुनारायण–६ मुहान पोखरी नजिक खसेको पहिरो पन्छाएपछि बाटो खुलेको हो ।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले भने, ‘अहिले पहिरो पन्छाएर सडक खुलाइएको भए पनि यो सडकखण्डमा पहिरोको जोखिम कायमै छ ।’ उनले पहिरोको जोखिममा सडक परेको भन्दै हालैको भीषण वर्षाका कारण चाँगुनारायण क्षेत्रका धेरै घर जोखिममा परेका र सडकमा पहिरो खस्ने, भासिने घटना बढिरहेका बताए ।
 

काभ्रेका सडकको यात्रा जोखिमपूर्ण
काभ्रेपलाञ्चोकमा स्तरोन्नति सुरु गरिएका मुख्य राजमार्गसहितका शाखा सडकमा द्रुत गतिमा काम नहुँदा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । निर्माण कम्पनीको ढिलासुस्ती र केही दिनदेखिको अविरल वर्षाले  निर्माणाधीन अरनिको राजमार्गको धुलिखेल–खावा र भकुण्डे–तेमाल–मेच्छे सडकखण्डको यात्रा जोखिमपूर्ण भएको हो । 

गत चैत १९ गतेभित्रमा सडक स्तरोन्नतिको काम सम्पन्न गर्नेगरी सडक विभागसँग सम्झौता गरेको निर्माण कम्पनीले धुलिखेल–खावा सडकमा हालसम्म ५० प्रतिशत पनि काम गरेको छैन । भक्तपुरस्थित सडक डिभिजन कार्यालयका प्रमुख मेघराज मरासिनीले  धुलिखेलबाट पकुचासम्मको दुई किलोमिटर कटिङ, पानीको निकासका निम्ति नाला निर्माण, सवबेस र बेस गर्ने काम सकेर कालोपत्र गर्ने अवस्थामा पुर्‍याए पनि वर्षाका कारण कालोपत्र हुन नसकेको बताए । 

वर्षाका कारण अरनिको राजमार्गको धुलिखेलबाट खावासम्मको सडकमा क्षति भएपछि दुई साता उक्त खण्डमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो । ती सवारीको भारलाई दृष्टिगत गर्दै ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस बनाएर कालोपत्र गर्ने योजना रहेको उनले सुनाए । 

यसैबीच, दुई वर्षभित्र सडक स्तरोन्नतिको काम सम्पन्न गर्नेगरी सम्झौता भएको भकुण्डे–तेमाल–मेच्छे सडक खण्डको ठेक्काको म्याद यही साउन १५ गते समाप्त भएको छ । हालसम्म २५ प्रतिशत मात्र काम भएको छ । निर्माण कम्पनीले नमोबुद्ध नगरपालिका–४ भकुण्डेबाट वडा नं ५ को डुँडेपौवासम्म  सात किलोमिटर र तेमाल गाउँपालिका–५ याङ्वेलबाट वडा नं ७ चापाखोरीसम्म  साढे छ किलोमिटर सडकमा नाला, बनाउने, टेवा पर्खाल लगाउने र कालोपत्र गर्ने सम्झौता गरेको थियो । यो सडकखण्डको यात्रा पनि कष्टकर भएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७