पति अरूसँग व्यस्त भएको भन्दै दुबईकी राजकुमारीले गरिन् डिभोर्स

काठमाडौं । दुबईकी राजकुमारी शिखा मह्रा बिन्ट मोहम्मद बिन रसिद अल मक्तोमले सामाजिक सञ्जालमार्फत आफ्ना पति शेख मना बिन मोहम्मद बिन रासिद बिन मानासँग सम्बन्ध विच्छेद (डिभोर्स) को घोषणा गरेकी छन् ।
यूएईका उपराष्ट्रपति तथा प्रधानमन्त्री र दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मक्तोमकी छोरी शिखाले इन्स्टाग्राममा पतिलाई सम्बोधन गर्दै डिभोर्सको घोषणा गरेकी हुन् । उनले लेखेकी छन्, ‘प्रिय श्रीमान ! तपाईं अन्य साथीसँग व्यस्त हुनुहुन्छ यसैले म हाम्रो सम्बन्ध विच्छेदको घोषणा गर्छु । म तपाईंलाई डिभोर्स दिन्छु । म तपाईंलाई डिभोर्स दिन्छु । म तपाईंलाई डिभोर्स दिन्छु । आफ्नो ख्याल राख्नु । तपाईंकी पूर्व पत्नी !’
उनीहरूको परम्परामा तीन पटक तलाक (सम्बन्ध विच्छेद) तलाक, तलाक भनेपछि सम्बन्ध विच्छेद हुने मानिन्छ । छोरी जन्माएको दुई महिनापछि शिखाले सम्बन्धविच्छेद गरेकी हुन् । यसपछि दुवैले एकअर्कालाई इन्स्टाग्राममा अनफलो गरेका छन् भने प्रोफाइलबाट एकअर्काका सबै तस्बिर हटाएका छन् ।
कतिपयले यो जोडीले एकअर्कालाई ब्लक गरेको अनुमान गरेका छन् । कतिपयले शिखा मह्राको एकाउन्ट ह्याक भएको हुनसक्ने आशंका पनि गरेका छन् । उनीहरूबीच सन् २०२३ मार्च २२ मा इन्गेजमेन्ट भई २०२३ मे २८ मा विवाह भएको थियो ।