दशरथचन्द नगरपालिकाले गाडी मर्मत र इन्धनमै सक्यो आधा करोड


२०८१ असार १० सोमबार १९:३५ बजे

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाले इन्धन र गाडी मर्मतका नाममा आधा करोड बढी खर्च गरेको पाइएको छ ।नगरपालिकाले इन्धन र गाडी मर्मतको नाममा मनलाग्दी खर्च गरेको पाइएको हो । सवारीसाधन मर्मत र इन्धन वितरण मापदण्ड बनाएर गर्नुपर्ने भए पनि नगरपालिकाले त्यसो नगरेको पाइएको छ । मापदण्ड बिनै मनलाग्दी रुपमा ५२ लाख ३२ हजार रुपैयाँ खर्च गरेको पाइएपछि नगरपालिकाको चर्को आलोचना भइरहेको छ ।

सरकारी सवारीसाधन सरकारी काममा मात्र प्रयोग गर्नुपर्ने, सरकारी सवारीसाधन अनाधिकृत व्यक्तिले प्रयोग नगर्ने व्यवस्था हुँदाहुँदै पनि दशरथचन्द नगरपालिकामा भने सवारीमर्मत र इन्धन वितरणमा मनपरी भइरहेको फेला परेको छ । सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारीता कायम गर्ने सम्बन्धि नीतिगत मार्गदर्शन २०७५ विपरीत नगरपालिकाले इन्धनमा मात्र ३० लाख ८२ हजार ९६ रुपैयाँ खर्च गरेको छ । इन्धन खर्चमा नगरपालिकाले कुनै मापदण्ड समेत बनाएको छैन् ।

त्यस्तै, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ बमोजिम सरकारी जिन्सी मालसामान हानिनोक्सानी नहुने गरी संरक्षण गर्ने र चालू अवस्थामा राख्ने उत्तरदायित्व सम्बन्धित कार्यालय प्रमुखको हुने व्यवस्था छ । नगरपालिकाले भने महालेखा परीक्षकको फाइल नम्बर ४४५ तयार नगरेरै सवारीमर्मतको नाममा २१ लाख ५० हजार रुपैयाँ खर्चेको हो ।

यस्तै, नगरपालिकाले अर्को चरम लापरबाही गरेको पनि पाइएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को ३९ (१०) मा सरकारी रकमको खर्च लेख्नु अघि त्यस्तो रकम खर्च गर्न वा भुक्तानी दिन आवश्यक बिल भरपाइ र कागजात संलग्न भए-नभएको तथा संलग्न कागजात अनुसार भुक्तानी दिन रीत पुगे-नपुगेको जाँच गर्नुपर्ने हुन्छ ।

तर, नगरपालिकाले इन्धन खरिदको भुक्तानी गर्दा एउटा सप्लायर्सको बियक राखेर अर्कै सप्लायर्सलाई भुक्तानी दिएको छ । २०७९ चैत २ मा काटिएको १६६ भौचर नम्बरको बिलमा भुक्तानी गर्नुपर्ने महादेव जनरल स्टोरलाई भए पनि हरि आयल स्टोरको बिजक नम्बर एचओएस–५१०८–७९/८० राखेको पाइएको छ । यो बिजकमा ५ लाख ८७ हजार ४०० को बिल काटिएको छ । यसरी नगरपालिकाले चरम आर्थिक चलखेल गरेको र भ्रष्टारको गन्ध आइरहेको स्थानीय बताउँछन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७