यो वर्ष सरकारले चार खर्बको काठ विक्री गर्छ : वनमन्त्री सुडी

काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले सरकारले यो वर्ष चार खर्ब रुपैयाँको काठ बेच्ने बताएका छन् । आज (आइतवार) प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री सुडीले सरकारले मन्त्रिपरिषद्बाट काठको मूल्य ३५ प्रतिशतले घटाउने निर्णय गरेको भन्दै अब सरकारले चार खर्ब रुपैयाँको काठ बेच्ने बताएका हुन् । उनले विगतमा काठको मूल्य बढी भएकाले नेपालकी काठ नबिकेको बताए ।
उनले एक, दुई महिनाभित्रै सबै नियम, कानून मिलाएर नेपाली काठलाई मलेसियन काठभन्दा महँगो पर्न नदिने बताए । उनले वन ऐन २०२९ लाई छिटोभन्दा छिटो संशोधन गर्नुपर्ने आवश्यकता रहेको भन्दै आफू त्यसमा दृढ संकल्पित रहेको बताए । उनले वन ऐन संशोधन गर्नका लागि संसद्मा छिटो पेश गरिने जानकारी दिए ।
मन्त्री सुडीले भने, ‘यही एक–दुई महिनाको अन्तर्गत सबै नियम, कानुन बनाए हाम्रो काठ मलेसियाको काठभन्दा महँगो पर्दैन। वन ऐन २०२९ का लागि म दृढ संकल्पित छु । यो ऐनलाई सुधार गर्नुपर्छ । पञ्चायती व्यवस्थामा बनेको कानुनले अहिले पनि वन मन्त्रालय सञ्चालन गर्नु कति जायज छ ? ४ वर्षदेखि हाम्रो काठको एक पैसा पनि आएको छैन । त्यसैले अल्पकालमा हामीले मन्त्रिपरिषद्बाट ३५ प्रतिशत पैसा घटाएका छौँ । सरकारले यसपालि ४ खर्ब रुपैयाँको काठ बेच्छ र ४ खर्ब रुपैयाँ वन मन्त्रालयको आम्दानी हुन्छ ।’
मन्त्री सुडीले नेपालमा आवश्यक पर्ने काठ नेपालकै प्रयोग गर्नुपर्नेमा जोड दिए । उनले विदेशी काठ उपयोग नगर्ने नीति लिनुपर्ने बताए । उनले सामुदायिक वनलाई नियमन तथा अनुगमन गरेर अझ बलियो बनाउनुपर्ने बताए । उनले एक व्यक्तिले कम्तिमा १० वटा रूख रोप्नुपर्नेमा जोड दिए ।