बजेटप्रति प्रधानमन्त्री नै असन्तुष्ट रहेको पायौं : कांग्रेस
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै आगामी आर्थिक वर्षको बजेटप्रति पूर्ण सन्तुष्ट नरहेको बताएका छन् । आज (बिहीबार) संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग उनले प्रधानमन्त्रीले मन्त्रालयगत बजेट असन्तुलित रहेको र परिमार्जन गर्ने भनिसकेको भन्दै मन्त्रालयगत बजेट परिमार्जन गर्नुको विकल्प नरहेको बताए ।
उनले मन्त्रालयगत बजेटमा प्रधानमन्त्रीले हस्तक्षेप गर्नुपर्ने बताए । उनले प्रधानमन्त्रीले बजेटमा असन्तुष्टि जनाउनुले बजेटमा गम्भीर प्रकृतिको कमजोर भएको प्रमाणित हुने बताए । उनले भने, ‘प्रधानमन्त्रीजीले बजेटका बारेमा जुन असन्तुलित ढंगले बजेट वितरण गरिएको छ । यो बजेटको वितरण त्यति उचित छैन । यसलाई परिमार्जन गर्नुपर्छ भनेर बजेटमा विनियोजनमा समस्या रहेकोतर्फ राम्रैसँग संकेत गर्नुभयो । हामी आशा गरौं । सरकारले बजेट परिमार्जन गर्नेछ ।
उनले भने, ‘जुन–जुन मन्त्रालयमा बजेट असन्तुलित भएको छ, त्यो मन्त्रालयमा बजेट सन्तुलित गर्ने र यो परिमार्जन गर्नेकुरा जुन प्रधानमन्त्रीले भन्नु भएको छ, यो सकारात्मक कुरा हो । प्रधानमन्त्रीजीले यसमा हस्तक्षेप गरेर बजेट परिमार्जन गर्नुपर्छ । बजेटप्रति सबैको असन्तुष्टि छ । प्रधानमन्त्रीजीले बोल्दा बजेटका प्रति असन्तुष्टि भएको संकेत गर्नु भएको छ । प्रधानमन्त्रीजी ने बजेटप्रति असन्तुष्ट भएको मैले संकेत पाएको छु । उहाँले परिमार्जन गर्नुपर्छ, सबै कुरा मिलेको छैन भन्नु भयो । यति भन्नु भनेको बजेटमा गम्भीर प्रकृतिको कमजोर भएको कुरा देखिन्छ ।’ प्रमुख सचेतक लेखकले बजेटमा गैरजिम्मेवारीपूर्ण विनियोजन देखापरेको भन्दै परिमार्जन गर्नुपर्ने बताए ।