प्रहरी समायोजनका लागि गृहले बनायो समिति

काठमाडौं : गृह मन्त्रालयले प्रहरी कर्मचारी समायोजन समिति गठन गरेको छ। मन्त्रालयका प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो ।
शुक्रबार गृहका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दे प्रहरी कर्मचारी समायोजन समिति गठन भई प्रहरी कर्मचारी समायोजनसम्बन्धी कार्य थालनी भइसकेको जानकारी दिएका छन् । भनेका छन्, ‘‘प्रहरी कर्मचारी समायोजन समिति गठन भई प्रहरी कर्मचारी समायोजनसम्बन्धी कार्य थालनी भइसकेको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ ।’
समितिमा मन्त्रालयका नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखाका सहसचिव सह-संयोजक, प्रहरी प्रधान कार्यालयका डिआइजी, गृहका उपसचिव सदस्य र मन्त्रालयका प्रहरी कर्मचारी प्रशासन शाखाका उपसचिव सदस्य सचिव रहेको ५ सदस्य छन् ।
सरकारले सङ्घीय प्रणालीअनुसार प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने औपचारिक प्रक्रिया शुरु गरेको हो ।
यसअघि सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ बमोजिम गृहमन्त्रीको अध्यक्षतामा बसेको गृह विषयगत समितिको बैठकले प्रहरी समायोजनलाई यथाशीघ्र अगाडि बढाउने निर्णय गरेको थियो ।
