राजेन्द्रलाई शेरधनको प्रस्ताव : कोशीमा आलोपालो सरकार चलाऔं, हिक्मतलाई विश्वासको मत दिनुस्


२०८० असोज १ सोमबार १७:२७ बजे

मोरङ । कोशी प्रदेश सरकारमा चुलिएको सत्ता संकटका विषयमा कोशी प्रदेशका दुई पूर्व मुख्यमन्त्रीबीच भेटवार्ता भएको छ ।
सत्ता संकटका विषयमा दुई पूर्व मुख्यमन्त्री राजेन्द्र राई र शेरधन राईबीचमा धरानमा भेटवार्ता भएको हो । भेटका क्रममा कोशीमा देखिएको सत्ता संकटका विषयमा छलफल भएको हो । भेटमा पूर्व मुख्यमन्त्री शेरधन राईले सरकार सञ्चालनमा सहयोग गर्न राजेन्द्रलाई आग्रह गरेका छन् । आफूहरुबीच भेट भएको स्वीकार गर्दै पूर्वमुख्यमन्त्री शेरधनले सरकार सञ्चालनका बारेमा छलफल भएको बताए ।

उनले भने, ‘अस्थिर सरकार भएका कारण प्रदेशमाथि नै प्रश्न उठेको छ । प्रदेशमाथि उठेका प्रश्नहरूको जवाफ दिन पनि हामीले सहकार्य गर्न आवश्यक छ ।’ कोशीमा एमालेको नेतृत्वमा सरकार गठन भएको छ । संविधानको धारा १६८ (३) अन्तर्गत सबैभन्दा ठूलो दलको हैसियतले मुख्यमन्त्री बनेका हिक्मत कार्कीले ३० दिनभित्र विश्वासको मत लिनु पर्नेछ । एमालेसँग बहुमत नभएका कारण अहिलेको सरकारलाई विश्वासको मत दिन शेरधनले आग्रह गरेको पूर्व मुख्यमन्त्री राजेन्द्रले जानकारी दिएका छन् ।

‘पूर्व मुख्यमन्त्रीले आलोपालो सरकारसम्मको कुरा गर्नुभयो’, राजेन्द्रले भने, ‘मैले सकारात्मक भएको जवाफ दिएको छु ।’ उनले कोशी प्रदेशको समग्र राजनीतिक अवस्थाका बारेमा छलफल भएको बताए । ‘हामीलाई सहयोग गर्नुस् भन्नुभयो । मैले साथीहरूसँग छलफल गर्छु भनेको छु’, राजेन्द्रले भने । उनले लामो समयपछि शेरधनसँग भेट भएको समेत बताए ।

एमाले छाडेर एकीकृत समाजवादीमा लागेपछि यी दुई नेताका बीचमा भेट भएको थिएन । शेरधन प्रदेशको मुख्यमन्त्री हुँदा एमालेमै रहेका राजेन्द्रले शेरधनको कार्यशैलीप्रति सदनमा तीव्र विरोध गरेका थिए । यसपछि दुई नेताबीचको सम्बन्ध तिक्त बनेको थियो । दुवै पूर्व मुख्यमन्त्री भोजपुरका हुन् । उनीहरूबीच लामो समयदेखि राजनीतिक प्रतिस्पर्धा समेत चल्दै आएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७