ओइल्याउँदै ओल : निरास किसान
–गोपालप्रसाद बराल
महोत्तरी । ‘आब बुझाइय जे ओल सेहो जवाफ दरहल अई’ (अब लाग्छ, ओलले पनि जवाफ दिँदैछ) यसपालि समयले कुनै बालीलाई राम्रो तुक (साथ) नदिँदा ओलमा मन अड्याएका महोत्तरीको भङ्गाहा–४ प्रेमनगरका किसान जवाहर महतोले ओइल्याउँदै गएका ओलका बोट देखाउँदै भने । कम चिस्यानमै लहलहाउने ओल समेत खडेरीले ओइलिन थालेपछि यसपालि अब कुन बालीले गुजारा चलाउने भन्ने महतोको चिन्ता छ ।
एउटा बाली नभए यसले त केही होला कि भन्ने आश पालेका किसानलाई यसपलि ओलले पनि निरास बनायो । यसपालिको लामो खडेरीले ओलका बोट पहेंलिँदै गएर सुक्न थालेपछि महतोसहितका ओल किसान अहिले गुजाराको चिन्ताले पिरोलिएका छन् ।
‘भदैया धानके बिया जैरगेल, लत्ती तरकारी सेहो नई उग सकल, आब देखैछी जे ओल सेहो मुर्झारहल अई’ (बर्खे धानको बीउ ब्याडमै डढ्यो, लहरे तरकारी पनि हुर्कन, बढ्न सकेनन्, अब त ओल पनि ओइलिन थाल्यो) जवाहरकै छिमेकी अर्का किसान रामविलास महतो पनि बिरक्तिदै भने, ‘आब अईबेर घरपरिवारक प्रतिपाल केना होयत ?’ (अब यसपालि जहान परिवारको पालन कसरी होला) । असार दोस्रो साता बित्नै लाग्दासम्म पनि माटो गालेर पानी नपरेपछि किसान यसपालि ठूलो अनिकाल त पर्ने होइन भन्ने चिन्तामा छन् ।
मधेशमा तरकारी फसलमा गनिने ओल यहाँका किसानकोे राम्रो आम्दानीको स्रोत रहँदै आएको थियो । पाखो जग्गाको अलि बलौटे जग्गामा पनि कम चिस्यानमैं हुने ओल खेती पनि यसपालिको खडेरीले खाएपछि किसान बिलखबन्द परेका देखिन्छन् । पछिल्ला केही दशकयता निकै फस्टाएको यो खेती यसपालिको लामो खडेरीले खाएपछि ‘अब चैं के गर्ने होला ?’ भन्ने आम किसानको चिन्ता छ । ‘थोरथार झार्रझुर्र पानीमा पनि हुने ओल समेत पानीबेगर ओइलिने, सुक्ने भएपछि अब के ले उभो लाग्नेहोला ?’ भङ्गाहा–४ टोकाटोलका किसान राजकुमार दास भन्छन् ।
मधेशमा विशिष्ट तरकारी र अचार मानिने ओल राम्रो भाउ (मूल्य) पाइने फसल मानिन्छ । यहाँ (मधेशमा) एउटा कहावत (उखान, आहान, उक्ति) छ, ‘भादोके ओल, कि खाए राजा कि खाए चोर’ अर्थात भदौको ओल कि राजा कि चोरले नै खान सक्छन् । यो कहावतले नै ओलको महत्व दर्साउँछ । भदौ निगल्दो र असोजमा उत्पादन लिइने ओल अन्य तरकारीभन्दा निकै महगो हुने हुँदा यो हुने खाने र चोरेर खानेले मात्र भेट्टाउँछन् भन्ने कहावत स्थापित भएको हो । पितृपक्ष (असोज कृष्ण पक्ष), दसैँ, तिहार र अन्य पर्व बाक्लै पर्ने बेला उत्पादन लिइने ओल पवित्र मानिन्छ । देवकार्य, पितृकार्य र अन्य शुभ अवसरमा ओलको परिकार हुनु यहाँ सम्पन्नतासँग पनि जोडिन्छ । महँगो तरकारी भान्छामा हुनुलाई यहाँ सम्पन्नतासँग जोडिने गरेको हो ।
दुई दशकअघिसम्म स्थानीय जातको ओल मात्र प्रचलनमा थियो । घरबारी ओरपर घुर्यानमा केही बोट लगाइने ओल निकै सप्रदा एक किलोसम्मको फल लाग्थ्यो । माटोमुनि फल्ने यसले तरकारी र चटनी (अचार) परिकारका लागि परापूर्वकालदेखि नै प्रसिद्धि पाउँदै आएको हो । पछिल्ला केही दशकयता महोत्तरीसहितका मधेशका जिल्लामा यसको व्यावसायिक खेती हुन थालेपछि उन्नत जातका ओल खेती प्रचलनमा आएका छन् । किसानले एउटा ओल सात/आठ किलोसम्मको बाक्लै निकालेका छन् । यहाँको ओलको स्वाद र गुणमा प्रसिद्ध भएपछि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका बजारमा पुग्ने गरेको छ ।
विशिष्ट अतिथिका लागि ओलको तरकारी र चटनी खान दिने र खाने दुबैका लागि विशेष मानिने गरेको भेटिन्छ । ओलको तरकारी वा चटनीसहितको आतिथ्यता ग्रहण गरेका पाहुनाले ‘आज त ओलको परिकार खाइयो’ भनेर दुई/चार ठाउँ बखान गर्नु महोत्तरीसहितका मधेशका सबैजसो जिल्लामा केही वर्ष पहिलेसम्म शानकै कुरा मानिने गरेको बर्दिबास–९ पशुपतिनगरका ८५ वर्षीय नथुनी महतो बताउँछन् ।
‘करिब तीन दशकअघिसम्म ओलको परिकार आम सर्वसाधारणको पहुँचमा थिएन, हुने खानेले खान्थे’ महतोले भने, ‘घु¥यानमा केही बोट लगाएका गरिबगुरुवालाई त्यो बेचेर कैयौं सामान जोड्ने सपना हुन्थ्यो,आफू नखाइ नखाइ बेच्थे ।’ तर पछिल्ला कालमा ओलको विकसित जात खेती प्रचलनमा आएपछि यसले सबै वर्गका भान्सामा प्रवेश पाएको महतो बताउँछन् । बेजोड स्वाद र स्वास्थ्यका दृष्टिले अत्यन्त गुणकारी (स्वास्थ्यवर्द्धक) भएको हुँदा मधेशको भान्सामा यसले विशेष मान र स्थान पाएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका जनस्वास्थ्य निरीक्षक वरिष्ठ स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झा बताउँछन् ।
उन्नत जात खेती प्रचलनमा आएपछि अब महोत्तरीसहितका आसपासका जिल्लामा यसले व्यवसायकै आकार लिइसकेको छ । महोत्तरीको उत्तरी क्षेत्रका बर्दिबास, भङ्गाहा, औरही र गौशाला तथा सुदूर दक्षिणपूर्वी मटिहानी नगरपालिका यो खेतीका उर्वर क्षेत्र मानिन्छन् । यी नगर क्षेत्रलाई कृषि ज्ञान केन्द्र कार्यालय महोत्तरी जलेश्वरले ओलको ‘पकेट क्षेत्र’ नै मान्दै आएको छ । यस क्षेत्रका किसानले ओल खेतीलाई महत्वका साथ नगद आर्जनको मुख्य स्रोत बनाउँदै आएका छन् ।
अहिले बारीमा लहलहाउनु पर्ने ओल खडेरीले सुक्दै गएपछि किसानले कैयौं साँचेका सपना मर्दैछन् । चाडपर्वमा जहान परिवारको मुख मिठ्याउने र नानीहरुका कैयौं रहर पूरा गर्ने आश र विश्वास ओलको बोटमै साँचेका किसानलाई अहिलेको यसको अवस्थाले पिरोल्दैछ । ‘ओलको बोट देख्दै मन विरक्तिन्छ, अब जहान परिवारको गुजरबसर र विशेष अवसरमा मीठो मसिनो खाने, राम्रो लाउने रहर के हेरेर साँच्नु ?’ बर्दिबास–९ पशुपतिनगरकै किसान महेन्द्र कुशवाहा भन्छन्, ‘सबैभन्दा दुख्याहा कर्म नै हामी किसानको रहेछ ।’
अन्य अन्नबालीभन्दा बढी उत्पादन दिने , खनेर बाली निकालेपछि लामो समयसम्म नबिग्रने, खनेर खेतबारीमै तल स्याउला ओछ्याएर थुपारेर राख्न मिल्ने र बजार भाउ राम्रो चलेको मौका पारेर बेच्न पाइने भएपछि धेरै किसानको रोजाइमा ओल खेती पर्दै आएको थियो । तर यसपालिको लामो खडेरीले बोट नै बढ्न नपाई ओइल्याउँदै, सुक्दै गएपछि यसले (ओल) पनि मन मारेको किसान बताउँछन् ।
पहिले स्थानीय जातको ओल बढीमा एक किलोसम्मको हुन्थ्यो । अनि उत्पादन लिन एक वर्ष कुर्नु पथ्र्यो । तर अब उन्नत जातको भने मौसमको साथ र सम्भारको समन्वय हुनसके चार महिनाभित्रै उत्पादन लिन थालिएको छ । एउटै ओल १० किलोसम्मको फल्ने गरेको कुशवाहा बताउँछन् । ‘हामीले १० किलोसम्मको ओल फलायौं, सात-आठ किलोका त बाक्लै निस्कन्थे’ कुशवाहा भन्छन्, ‘समयले साथ दिदा प्रतिकठ्ठा २० मन (आठ क्विन्टल) सम्म उत्पादन लिएका छौं ।’ प्रतिकट्ठा रु. १० हजारभित्रको लागतमा खेती सकिने ओलबाट ५० हजारमाथि आम्दानी त हेलै (सजिलै) लिदै आइएको कुशवाहा बताउँछन् । यसपालि भने समय (मौसम) ले साथ नदिदा यो खेतीले धोखा खाइएको कुशवाहाको भनाइ छ ।