महोत्तरी एलपी ग्यास र चुल्हो वितरण गर्ने सम्झौता


२०८० बैशाख २१ बिहीबार १८:४९ बजे

काठमाडौँ । भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत महोत्तरी जिल्लाका पाँच नगरपालिकाका विपन्न तथा सीमान्तकृत समुदायका व्यक्तिलाई निःशुल्क एलपिजी ग्यास चुल्हो र ग्यास सिलिन्डर वितरण गरिने भएको छ ।

यससम्बन्धी सम्झौतापत्रमा काठमाडौँस्थित भारतीय राजदूतावास र सुशीला ठाकुर स्मृति स्वास्थ्य फाउन्डेसनबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा दूतावासका प्रथम सचिव करुण वंशल र फाउन्डेसनका निर्देशक सुशीला ठाकुरले हस्ताक्षर गरेका थिए ।

भारत सरकारले उक्त फाउन्डेसनलाई उपलब्ध गराएको करिब रु पाँच करोड अनुदानबाट महोत्तरी जिल्लाका पाँच नगरपालिकाका झण्डै आठ हजार विपन्न तथा सीमान्तकृत परिवार लाभान्वित हुने कुरा सो सम्झौतामा उल्लेख छ ।

दाउरा, कोइला, गुँइठा जस्ता परम्परागत इन्धनमा निर्भर ग्रामीण भेगका घरपरिवारलाई एलपिजी ग्यास उपलब्ध गराउने उद्देश्यले भारत सरकारको ‘प्रधानमन्त्री उज्ज्वला योजना’ अन्तर्गत सो अनुदान उपलब्ध गराएको हो । सन् २००३ यता भारतले नेपालमा पाँच सय ३५ भन्दा बढी उच्च प्रभावकारी सामुदायिक विकास परियोजना अघि बढाएकामा हालसम्म चार सय ७८ वटा सम्पन्न भइसकेका छन् । तीमध्ये महोत्तरी जिल्लाका छवटा गरी मधेस प्रदेशमा मात्र ८१ वटा आयोजना रहेका छन् ।

यसका अतिरिक्त भारत सरकारले महोत्तरी जिल्लाका विभिन्न अस्पताल एवं स्वास्थ्यचौकीलाई २३ वटा एम्बुलेन्स उपहारस्वरुप प्रदान गरिसकेको छ । एक निकट छिमेकीका रूपमा भारत र नेपालबीच बहुपक्षीय एवं बहुक्षेत्रीय सहकार्य रहेको छ । नेपाली जनताको जीवनस्तर उकास्न नेपाल सरकारले गरेका प्रयासहरूमा भारतको निरन्तर सहयोग रहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७