बैतडी : तेस्रो जीतको खोजीमा भण्डारी, हारको बदला दिने दाउमा कुँवर


२३:३७ बजे

बैतडी । शहीद दशरथ चन्दको जन्मभूमि बैतडीमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन र प्रतिपक्षी दल नेकपा (एमाले) का उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

चार पटक मुलुकको कार्यकारी पद सम्हालेका पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको गृह जिल्ला समेत रहेको बैतडीमा उनको पार्टीको अवस्था भने कमजोर छ । सत्ता गठबन्धनबाट बैतडीमा नेकपा (माओवादी केन्द्र) का नरेन्द्रबहादुर कुँवर चुनावी मैदानमा छन् । कुँवरसँग एमालेका दामोदर भण्डारीले प्रतिस्पर्धा गर्दै छन् ।

यी दुवैबीचको प्रतिस्पर्धा रोचक हुने देखिएको छ । विसं २०७० र २०७४ को निर्वाचनमा विजयी भएर अर्थ राज्यमन्त्री समेत भइसकेका भण्डारी तेस्रो पटक जितलाई निरन्तरता दिने रणनीतिका साथ चुनावी मैदानमा छन् । भण्डारीको पक्षमा माहोल बनाउन पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि बैतडीमा चुनावी सभालाई सम्बोधन गरेका थिए । डविसं २०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदा भण्डारीलाई अहिलेका प्रतिस्पर्धी कुँवरले सघाएका थिए । तर सत्ता गठबन्धनका कुँवर र एमाले उम्मेदवार भण्डारी २०६४ र २०७० मा पनि प्रतिस्पर्धी थिए ।

त्यसैगरी सत्ता गठबन्धनका उम्मेदवार कुँवरको पक्षमा माहोल बनाउन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल आज यहाँ आउने कार्यक्रम तय भएको छ ।

विसं २०६४ मा कुँवरले भण्डारीलाई पराजित गरेका थिए । विसं २०७० सालमा बेहोरेको हारको बदला लिने दाउमा कुँवर रहेका छन् । कुँवरलाई कांग्रेसको साथ छ । विसं २०७४ मा वाम गठबन्धनको साझा उम्मेदवार बनेका भण्डारीले कांग्रेसका नरबहादुर चन्दलाई पराजित गरेका थिए भने २०७० सालमा दुई वटा निर्वाचन क्षेत्र रहेका बेला भण्डारीले कांग्रेसका लोकराज अवस्थीलाई पराजित गरेका थिए ।

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई आधार मान्दा बैतडीमा गठबन्धन दलको मत ५० हजार मत छ भने एमालेको ३५ हजार मत छ । गठबन्धन दलभित्रको असन्तुष्टिको फाइदा आफूलाई हुने भण्डारी बताउँछन् ।
माओवादी केन्द्र साङ्गठनिक रुपमा कमजोर देखिएको छ । तर सत्ता गठबन्धनको साथ रहेकाले निर्वाचनको मत परिणाम आफ्नो पक्षमा आउनेमा कुँवर आशावादी छन् । यता राष्ट्रिय प्रजातन्त्र पार्टीले भने स्थानीय तहको सम्पन्न निर्वाचनमा उपाध्यक्ष पदमा पराजित देवबहादुर चन्दलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।

विसं २०४० देखि २०५९ सम्म गरी चार पटक प्रधानमन्त्री भइसकेका लोकेन्द्रबहादुर चन्द यहाँबाट २०५१ सालमा निर्वाचित भएका थिए । उनी २०४० साल, २०४६, २०५३ र २०५९ सालमा मुलुकको प्रधानमन्त्री भएका थिए । पूर्व प्रधानमन्त्री चन्द २०६४ सालमा समानुपातिकतर्फबाट सांसद थिए । विसं २०७० को निर्वाचनमा उनी पराजित भए । सोही समयमा उनका छोरा जयन्त चन्द भने समानुपातिक सांसद भएको राष्ट्रिय प्रजातन्त्र पार्टी बैतडीका अध्यक्ष इन्द्रदेव शरण भट्टले बताए ।

आसन्न निर्वाचनमा मत माग्न पूर्व प्रधानमन्त्री पुुत्र एवं पूर्वमन्त्री जयन्त चन्द बैतडीमा घरदैलोमा व्यस्त छन् । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको अवस्था निकै कमजोर देखिएकाले आसन्न निर्वाचनमा जित निकाल्न कठिन हुने बताइन्छ । राप्रपाले गत स्थानीय तहको निर्वाचनमा पूर्व प्रधानमन्त्री चन्दको वडा सूर्नाया गाउँपालिका–२ मा मात्रै वडाध्यक्षसहित सदस्य जितेको थियो ।

‘बैतडीमा पालिका निर्वाचनमा पूर्वप्रमको वडामा मात्रै हामी प्यानलसहित विजयी भयौं’, भट्टले भने, ‘एकाध ठाउँमा वडासदस्यबाहेक प्रतिस्पर्धामा सहभागी मात्रै भइयो ।’ विसं २०४८ मा तीन क्षेत्र रहेकोमा तीनवटैमा कांग्रेस विजयी भएको थियो । विसं २०५१ को मध्यावधि निर्वाचनमा दुईटै निर्वाचन क्षेत्रमा राप्रपाका उम्मेदवार तथा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द विजयी भएका थिए । त्यो बेला चन्दले एउटा क्षेत्र छोडे । त्यसपछि उपनिर्वाचनमा भने कांग्रेसका केशवबहादुर चन्द विजयी भए ।

आसन्न निर्वाचनमा कांग्रेसको टिकट वितरणप्रति असन्तुष्टि देखाएका केशवबहादुर चन्द प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार छन् । उनलाई कांग्रेसले कारवाही समेत गरेको छ । नेपाली कांग्रेस बैतडीका सभापति एवं सत्ता गठबन्धन निर्वाचन समितिका संयोजक चतुरबहादुर चन्दले स्थानीय तहको मत संख्या हेर्दा गठबन्धनले सहजरुपमा जित्ने दाबी गरे । ‘माओवादीको स्थानीय तहको मतसंख्या र उम्मेदवारका हिसाबले कमजोर उम्मेदवार भए पनि दुवै पार्टीको मतभारका कारण जित्ने अवस्था छ ।’ उनले भने, ‘सत्ता गठबन्धनको सबैको प्रयास र मेहनतले निर्वाचन जित्छौँ ।’

उता गठबन्धनभित्रको असन्तुष्टि र दश वर्षसम्म आफूले गरेको काम नै आफ्नो जित्ने आधार रहेको एमाले उम्मेदवार भण्डारीको छ । ‘दश वर्षको काम जनताले देखेका छन्’, उनले भने, ‘समृद्ध बैतडीको सङ्कल्प लिएर चुनावमा होमिएका छौँ ।’

सत्ता गठबन्धनका उम्मेदवार कुँवर भने गठबन्धन एकठिक्का भएर चुनाव होमिएको बताउँछन् । ‘टिकटका लागि गठबन्धनमा सामेल सबै दलका नेता लागेको भए पनि अहिले कुनै असन्तुष्टि छैन, सबै एकजुट भएर निर्वाचनमा होमिएका छौं’, उनले भने, ‘गठबन्धन चुनावका लागि मात्र नभई संविधानको रक्षाका लागि भएकाले हामी जित्छौँ ।’ मुख्य प्रतिस्पर्धी दलहरु यहाँ नेपाल–भारत सीमा झुलाघाटमा पक्की पुल, पञ्चेश्वर परियोजनालगायत बैतडीको समग्र विकासका एजेण्डा अघि सारेर चुनावी मैदानमा होमिएका छन् ।

१० पालिका रहेको बैतडीमा आसन्न निर्वाचनमा एक लाख ५० हजार एक सय ५६ मतदाताले मतदान गर्नेछन् । प्रतिनिधिसभाका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको बैतडीमा ११ जना चुनावी प्रतिस्पर्धामा छन् । सत्ता गठबन्धनका कुँवर, एमालेबाट भण्डारीसँगै स्वतन्त्रबाट केशवबहादुर चन्द चुनावी मैदानमा छन् ।

यस्तै राप्रपाबाट देवबहादुर चन्द, स्वतन्त्रबाट त्रिलोकबहादुर चन्द, नेश्नलिस्ट पिपल्स पार्टीबाट कृष्णबहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाशचन्द्र भट्ट, नेपाल मजदुर किसान पार्टीबाट कृष्णप्रसाद गोसाईं, जनता समाजवादी पार्टीबाट आनसिंह भण्डारी र स्वतन्त्रबाट मानसिंह विष्ट चुनावी मैदानमा छन् । प्रदेशसभा ‘क’ मा कांग्रेसका वीरबहादुर विष्ट र एमालेका सुरेन्द्र पाल तथा प्रदेशसभा ‘ख’मा कांग्रेसका शिवराज भट्ट र एमालेका लिलाधर भट्टबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७