जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेशका प्रमुखलाई विप्लव कार्यकर्ताले दले मोसो

सुर्खेत । जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेशका प्रमुख धनबहादुर केसीलाई मोसो दलिएको छ । शैक्षिक सत्र शुरु भएको लामो समयसम्म पनि कर्णालीमा पाठ्यपुस्तक नपुर्याएको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ निकट नेकपाको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले केसीलाई मोसो दलेको हो ।
विद्यार्थी संगठनका केन्द्रीय सदस्य समेत रहेका सुर्खेत जिल्ला इञ्चार्ज तुलाराम तिरुवाले एक विज्ञप्ति जारी गर्दै केसीलाई जनकारवाही गरिएको बताए । उनले मनोमानी तरिकाले पुस्तक वितरण गरी पुस्तक व्यवसायीसँग करोडौं कमिसन खाएको, हुम्ला, जुम्ला, डोल्पा लगायतका दुर्गम जिल्लाको विल बनाई किताब सुर्खेतमा वितरण गरेको र लाखौं रकम ढुवानीबाट कमिसन खाएको आरोप लगाएका छन् । साथै उनले सरकारी कार्यालयलाई निजी पैत्रिक सम्पतिको रुपमा प्रयोग गर्ने र कार्यलयमा विवाह, व्रतबन्ध जस्ता कार्यक्रम गरेको आरोप लगाए ।
यता जिल्ला प्रहरी कार्यालयका अनुसार केसीलाई उनको कार्यकक्षमै कालोमोसो दलिएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी सुरज कार्कीले कालोमासो दल्ने व्यक्तिहरुको खोजी भइरहेको रातोपाटीलाई जानकारी दिए ।