प्रधानमन्त्री कसैले सहयोग गर्छ भने हात थाप्न तयार भइहाल्नु हुन्छ : वामदेव गौतम

काठमाडौँ । राष्ट्रिय सभाका सांसद वामदेव गौतमले प्रधानमन्त्री शेरबहादुर देउवाको चरित्र अरुले सहयोग गरे हात थाप्न तयार भइहाल्ने खालको रहेको टिप्पणी गरेका छन् ।
आज (शुक्रबार) को राष्ट्रिय सभा बैठकमा स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का सन्दर्भमा सम्झौता गर्न तयार भएको भन्दै उनले भने, ‘उहाँ देशको विकास हुन्छ भने के-के गर्नुपर्छ सबै गर्न तयार भई दिनुहुन्छ । कसैले सहयोग गर्छ हात थापिहाल्नु पर्छ । उहाँको चरित्र त्यस्तो हो ।’ देउवाको यो चरित्रले उनी स्वयंलाई पनि धेरै नोक्सान गरेको गौतमले बताएका छन् । ‘राष्ट्रलाई पनि नोक्सान गरेको छ । सम्भवतः कांग्रेसलाई पनि नोक्सान गरेको छ’, उनले भने ।
गौतमले देउवा एसपीपी आउने वित्तिकै सम्झौता गर्न तयार भएको आरोप लगाए । यति महत्वपूर्ण विषय गुमराहमा राखेर सम्झौता गर्ने तयारी हुनु गलत भएको उनले बताएका छन् ।
एसपीपीको शुरुवात जसले गरे पनि एमालेका अध्यक्ष केपी शर्मा ओलीले अघि बढाएको बताए । ‘अस्ती मात्रै एउटा पत्र आएको छ । त्यो पत्रले यसको शुरुवात जसले गरेको भए पनि यसलाई अगाडि बढाउने काममा नेकपा एमालेका अध्यक्ष त्यसबेलाका प्रधानमन्त्री भएको अध्यक्ष ज्यू त्यसमा संलग्न हुनुहुन्छ, सदनलाई साँचो कुरा बताउनु पर्दछ’, गौतमले भने ।
यस्तै उनले आफू फेरि कम्युनिस्ट पार्टीहरूलाई एकजुट बनाउने अभियानमा लागिपर्ने बताएका छन् । केही समयदेखि आफू कुनै पनि पार्टीमा संलग्न नभएको उल्लेख गर्दै सांसद गौतमले त्यसलाई फेरि एकीकृत गर्ने अभियानमा लाग्ने विचार गरेको र केही समयपछि त्यसको घोषणा गर्ने योजना पनि सुनाए ।
सांसद गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकीकृत गर्नका लागि नै आफूले कुनै पनि नेताहरुको बारेमा टीकाटिप्पणी नगरेको स्पष्ट पारे । नेपाललाई समृद्ध समाजवादमा पुर्याउने आशासहित गठन भएको नेकपा पार्टीभित्रको आन्तरिक समस्याका कारण ३ वटा टुक्रामा विभाजित भएको उल्लेख गर्दै उनले भने, ‘केही समयदेखि म नेपालको कुनै पनि पार्टीमा छैन । मेरो विचार कम्युनिस्ट पार्टीहरु फेरि एकजुट हुनुपर्छ भन्ने हो । त्यसो भएर मैले कुनै नेताको बारेमा टीकाटिप्पणी पनि गरेको छैन । आफ्नो जीवनमा सधैंभरि क्रिटिकल व्यक्ति हुँ । मैले पुष्पलालको पनि आलोचना गरेँ । मैले मदन भण्डारीको पनि आलोचना गरें, जीवराज आश्रितको पनि आलोचना गरें ।’
आफू फेरि कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा लाग्ने पनि गौतमले बताएका छन् । उनले भने, ‘म फेरि एकीकृत गर्ने, म फेरि कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने एउटा महाअभियानमा संलग्न हुने विचार गरेको छु । र, केही समयपछि म घोषणा गरेर त्यो काममा लाग्नेछु । सफलता प्राप्त हुन्छ कि हुँदैन ।’