देशभर हावाहुरी र चट्याङ्गसहित वर्षा, जाजरकोटमा हुरीले ६ घरमा क्षति


२०७९ बैशाख १७ शनिबार २१:३८ बजे

जाजरकोट । जाजरकोटमा हावाहुरीले ६ वटा घरमा क्षति पुर्‍याएको छ । गए राति चलेको हावाहुरीले भेरी नगरपालिका-३ मा ६ वटा घरमा क्षति पुर्‍याएको हो ।

स्थानीय बासिन्दाका घर तथा पालिका चुनावका लागि स्थापना गरिएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा समेत क्षति पुगेको प्रमुख निर्वाचन अधिकृत यज्ञराज आचार्यले जानकारी दिए । उनका अनुसार भवनको छानोमा क्षति पुगेपछि काम गर्न असहज भएको छ ।

चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
आज (शनिबार) राजधानी काठमाडौंसहित देशभरजसो वर्षा हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन् । वर्षासँगै चट्याङ र हावाहुरीको पनि सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार अहिले पनि चितवन, नवलपरासी आसपास चट्याङसहित वर्षा भइरहेको छ । काठमाडौंमा भने तत्काल पानी परिसकेको छैन । ‘आज हिजो (शुक्रबार) भन्दा अलि बढी वर्षा हुने सम्भावना देखिएको छ’, मौसमविद् बासीले भनिन्, ‘साथै हावाहुरी पनि अलि बढी आउने सम्भावना छ ।’

उनका अनुसार आज काठमाडौं उपत्यकामा पनि वर्षासँगै चट्याङ र हावाहुरीको पनि सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समतल भूभागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव छ ।

जसका कारण आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तै राति देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहने छ । यस क्रममा प्रदेश-१, बागमती प्रदेश , गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थान र कणर्ाली प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ । जसमा भनिएको छ : प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ । साथै देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७