झिनियाँको माग थेग्नै गाह्रो


०९:१४ बजे

पाल्पा, १९ कात्तिक । तिहारमा दिदीबहिनीले दाजुभाइलाई चामलबाट बनाइने झिनियाँ रोटीको परिकार दिने परम्परा छ । तर, दसैंपछि तिहारसम्म माग थेग्नै मुस्किल पर्ने उत्पादक तथा बिक्रेता बताउँछन् । चाडका बेलामा पाल्पामा मात्रै झण्डै ३ करोड रुपैयाभन्दा बढीको झिनियाँको व्यापार हुन्छ । रोटीका लागि बजारको पनि समस्या छैन ।

‘यस वर्ष धेरै समय पानी पर्दा बनाउन सकिएन,’ रामपुर नगरपालिकाका उत्पादक तथा बिक्रेता रुद्रप्रसाद श्रेष्ठले भने, ‘झिनियाँ रोटीको माग थेग्नै मुस्किल परेको छ ।’ उनको परिवारलाई यतिबेला झिनियाँ रोटी बनाउन भ्याइनभ्याई छ । परिवारै यही रोटी बनाउने, सुकाउने, बजार व्यवस्थापन गर्नमा खटिएका छन् ।

दसैंदेखि तिहारसम्म सबै खर्च कटाएर झिनियाँ रोटी बिक्रीबाट ५ लाख रुपैयाँभन्दा बढी आम्दानी हुन्छ । त्यसैले परिवारका सबै जना यही काममा खटिएका हुन् । ‘सिजनमा काम गर्न पनि समस्या भयो,’ उनले भने, ‘सोलार डायर र स्वचालित मेसिन हुन्थ्यो भने अहिले हतार हुन्थेन ।’ यो रोटी बनाएर सुकाएको ६ महिना बढी केही हुँदैन । त्यसैले स्थानीय तह, संघीय र प्रदेश सरकारले सहयोग गर्ने हो भने वर्षभरि उत्पादन गर्न सकिने उनले बताए ।

चामलबाट बनाइने रंगीविरंगी झिनियाँ रोटी बिक्री गरेर सिजनमा राम्रो नाफा हुन्छ । घरमै बसेर थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने उनको अनुभव छ तर प्रविधिको भने समस्या छ । स्थानीय, प्रदेश र संघीय सरकारले यस्ता साना उद्योगमा लगानी गर्न नसक्दा हातैले बनाउनुपर्ने बाध्यता रहेको उत्पादक तथा बिक्रेता रामपुर नगरपालिकाकै लक्ष्मी श्रेष्ठले बताइन् ।

जिल्लाकै दुर्गम निस्दी गाउँपालिका गल्धा, ढुंगानाबेसीकी भीमकुमारी बयम्बु राई मगर पनि दसैंपछि परिवारका सबै मिलेर झिनियाँ रोटी बनाउन व्यस्त छन् । ‘दसैंसम्म घाम नै लागेन,’ उनले भनिन्, ‘त्यसैले समस्या भएको हो । अहिले माग धेरै आएको छ । थेग्नै मुस्किल परेको छ ।’

लामो समय वर्षा हुँदा घाम नलागेपछि सुकाउन समस्या भएको छ । सदरमुकामबाट ६० किलोमिटर टाढा उद्योग खोलेकी छन् । उनले अहिलेसम्म ६ लाख लगानी गरिसकेकी छन् । अब लगानी थप्न पुँजी छैन । सोलार डायर, अटोमेटिक मेसिन सहयोग पाइयो भने यस्तो रोटीको व्यवसायलाई अझ राम्रो बनाउन सकिने उनको अनुभव छ ।

रामपुर र निस्दीमा मात्र होइन, पूर्वखोलाको वीरकोट, रम्भाको ताँहु, हुमिन, तानसेन नगरपालिका, बगनासकालीको आर्यभन्ज्याङ, पोखराथोकलगायतका स्थानमा १ सय ५० भन्दा बढ महिला तथा पुरुषले झिनियाँ रोटी बनाएर सिजनमा राम्रो आम्दानी गरेका छन् । अधिकांश महिला यो रोटी बनाउने गर्छन् । पुरुषको साथ पाएकाले आफैं उत्पादक र आफैं व्यापारी पनि छन् ।

तिहारको सिजनमा पाल्पामा महिलाले कम्तीमा ५० हजारदेखि १० लाखसम्मको झिनियाँ रोटीको व्यापार गर्नेहरू छन् । एक दर्जनलाई ८० रुपैयाँदेखि ३ सय रुपैयाँमा बिक्री हुन्छ । पाल्पामा उत्पादन भएको रोटी बुटवल, नेपालगन्ज, भैरहवा, नवलपरासी, पोखरा, काठमाडौं, नारायणगढलगायतका स्थानबाट माग आउने गरेको माथागढी गाउँपालिका–४, कसेनीकी केशलक्ष्मी भट्टराईले बताइन् ।

तिहारमा दिदीबाहिनीले दाजुभाइलाई टीका लगाइदिएपछि सगुनको रूपमा रोटी दिने चलन बढेको उनले बताइन् । ‘धेरैभन्दा धेरै प्रकारका रोटी दिनुपर्ने चलनले पनि झिनियाँ रोटी बिक्री बढेको हो,’ उनले भनिन्, ‘पछिल्लो समयमा सबैको लोकप्रिय बनेको छ ।’ गाउँ सहर जतासुकै झिनियाँ रोटी लोकप्रिय बनेको छ । यसको व्यापार विगतको तुलनामा राम्रै फस्टाएको व्यापारी विद्यालक्ष्मी बज्राचार्यले बताइन् । कान्तिपुर दैनिकबाट

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७