निषेधाज्ञामा बैंकिङ सेवा र सेयर बजार बन्द नहुने
काठमाडौं, १३ वैशाख । काठमाडौं उपत्यकामा निषेधाज्ञा गरिए पनि बैंकिङ सेवा र सेयर बजार भने बन्द नहुने भएका छन्।
उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले १६ गतेदेखि निषेधाज्ञा गर्ने तयारी गरेका छन्। तर बैंकिङ अत्यावश्यक सेवा अन्तर्गत नै पर्ने भएकाले यो सेवा बन्द नहुने भएको हो। नेपाल राष्ट्र बैंकले स्वास्थ्यसम्वन्धी मापदण्ड पालना गरेर सेवा प्रवाह गर्न निर्देशन दिएको छ।
प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक उपायहरु अवलम्वन गर्न राष्ट्र बैंकले भनेको छ। सेवाग्राहीबीच भौतिक दूरी कायम हुने व्यवस्था मिलाएर सेवा प्रवाह गर्न तथा सेवाग्राहीको आवतजावत सकेसम्म कम हुनेगरी सेवा प्रदान गर्न भनेको छ। सकेसम्म विद्युतीय माध्यमबाट कारोबार गर्न गराउन पनि राष्ट्र बैंकले आग्रह गरेको छ।
अनलाइन प्रणाली टिएमएसबाट नै सेयर खरिदबिक्रीका लागि अर्डर पोष्ट गर्न सकिन्छ। सेयर बिक्री भइसकेपछि बैंक खातामै रकम जम्मा हुने गरेको छ भने खरिद भइसकेपछि लगानीकर्ताले कनेक्ट आइपिएसमार्फत भुक्तानी गर्दै आएका छन्। तर अब सेयर निषेधाज्ञा गरिए पनि बजार बन्द नहुने भएको छ। नेप्सेले ब्रोकरेज सेवा संचालन गर्दा मापदण्ड पालना गर्न निर्देशन दिएको छ।
एक विज्ञप्ति जारी गर्दै नेप्सेसँग गर्नुपर्ने कामकारबाहीका लागि भौतिक उपस्थितिलाई कम गर्ने, नेप्सेमा पेश गर्नुपर्ने कागजातहरु यथासम्भव इमेलमार्फत अभौतिक रुपमा पठाउने व्यवस्था गर्न भनेको छ।
संस्थापक सेयरको कारोबार गर्न गराउन ब्रोकर कम्पनीले आवश्यक सम्पूर्ण कागजात संकलन गरिसकेपछि मात्र नेप्सेमा पेस गर्ने। ब्रोकर कार्यालय संचालन गर्दा महामारी नियन्त्रणका लागि अपनाउनुपर्ने सावधानीहरु भौतिक दुरी कायम गर्ने, मास्क लगाउने, ज्वरो नाप्ने, सेनिटाइजरको प्रयोग लगायतका मापदण्ड पालना गर्न र गराउन नेप्सेले निर्देशन दिएको छ।
सेयर खरिदबिक्री पश्चात तोकिएको समयावधिभित्र लगानीकर्तालाई सेयर तथा रकम सहज ढंगले उपलव्ध गराउने व्यवस्था सुनिश्चित गर्न नेप्सेले भनेको छ। धितोपत्र कारोबारका सन्दर्भमा लगानीकर्तालाई अनलाइनको प्रयोग गर्न प्रोत्साहित गर्न नेप्सेले निर्देशन दिएको छ।