पार्टी एकतालाई कमजोर पार्ने गतिविधिले देश र जनताको हित गर्दैन : प्रचण्ड


२०७७ असार २८ आइतबार ०३:४३ बजे

चितवन, २८ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रकोपविरुद्धको सङ्घर्ष एक जुट भएर गर्नुपर्ने बताएका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकलाई आज (आइतबार) यहाँ सम्बोधन गर्दै उनले कोरोना र प्रकोपविरुद्धको सङ्घर्ष कमजोर हुन नहुने बताए । उनले भने, ‘मुलुक बाढी पहिरोको उच्च जोखिममा छ ।

यस्तो बेलामा पार्टीका राजनीतिक गतिविधि र अन्य विवादले एकता कमजोर नहोस् । पार्टी एकतालाई कमजोर पार्ने काम कहीं कतैबाट भयो भने त्यो जनताको पक्षको काम भन्ने ठहरिँदैन ।’

उनले पार्टी गतिविधिलाई कमजोर पार्ने गतिविधिले देश र जनता कसैलाई हित नगर्ने बताए ।
पार्टी एकताको पक्षमा उठेका विषयमा भइरहेको पहललाई सकारात्मक रुपमा लिँदै उनले भने, ‘यसमा पनि तपाईंहरुको पहल भइरहेको छ । त्यसका लागि धन्यवाद ।’ आगामी दिनमा अझै दृढताका साथ एकताबद्ध भएर अगाडि बढ्न उनले आग्रह गरे ।

सतर्कता अपनाउन र उच्च मनोबलका साथ एकताबद्ध भएर कोभिड–१९ का विरुद्ध लड्न उनले सुझाव दिए । रोगविरुद्ध सबै राजनीतिक शक्ति, नागरिक समाज, पत्रकार सबै एकताबद्ध हुनुपर्ने पूर्व प्रधानमन्त्री दाहालको भनाइ थियो ।

उनले जिल्लामा राप्ती, नारायणी र रिउ नदीमा तटबन्धसहितको चक्रपथ निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन बनेर अर्थ मन्त्रालयमा बजेटका लागि पेस भएको जानकारी पनि दिए । अध्यक्ष दाहालले भने, ‘यो मेरो ड्रिम प्रोजेक्ट हो । यो चितवनका जनताको समृद्धिको आधार बन्छ ।’ साथै जिल्लामा रहेका खहरे खोलाहरुको व्यवस्थापनमा ध्यान दिनु पर्नेमा पनि उनले जोड दिए ।

वर्षातमा नभएर त्यसअघि नै विपद् व्यवस्थापनको तयारी र विकास निर्माणको काम गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड थियो । बैठकमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जिल्लाको समग्र विपद् व्यवस्थापनको पूर्व तयारी र अहिलेको अवस्थाबारे जानकारी गराएका थिए ।

सो अवसरमा प्रदेशसभा सदस्य, राजनीतिक दलका प्रमुख, स्थानीय तहका प्रमुख, सरोकार कार्यालयका प्रमुख तथा सरोकार सङ्घसंस्थाका प्रतिनिधिले आआफ्नो क्षेत्रको गतिविधि र धारणा राखेका थिए ।

चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दाहाल उपस्थित भएको बेला पारेर विपद् व्यवस्थापन समिति बैठक राखिएको हो । अध्यक्ष दाहाल आफ्नै क्षेत्रमा पर्ने मेघौलीमा नारायणी नदीको कटान र माडी क्षेत्रमा भएको मानवीय क्षति पछि निरीक्षणका लागि गृह जिल्ला आएका हुन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७