तरकारी पोहोरभन्दा दोब्बर महँगो, केमा कति बढ्यो ?
काठमाडौं, २७ वैसाख । सरकारले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि नियन्त्रण भएको दाबी गरिरहँदा बजारमा अधिकांश तरकारीको भाउ पोहोरभन्दा दोब्बर महँगो भएको छ । तरकारीको मूल्य अचाक्लि वृद्धि हुँदा भान्छा चलाउन हम्मे परेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्षको तुलनामा तरकारीको भाउ एक सय ४३ प्रतिशतसम्म बढेको छ । गत वर्षमात्र नभएर गत महिना (चैत) सँग तुलनामा गर्दा पनि भाउ अत्याधिक वृद्धि भएको हो ।
निरन्तर वषात्ले तरकारी नष्ट हुँदा उत्पादनमा ह्रास, अफ सिजन, मागको आधारमा तरकारी उत्पादन नहुनु लगायतका कारणले तरकारीको भाउ बढेको व्यापारी बताउँछन् ।
भान्छामा दैनिक रुपमा प्रयोग हुने गोलभेंडाको मूल्य किलो मै ५० रुपैयाँ बढेको छ । गत वर्ष वैशाख अन्तिम साता (२६ गते) ३५ रुपैयाँ किलो बिक्री भएको गोलभेंडा विहीवार ८५ रुपैयाँ किलोमा बिक्री भएको छ । गोलभेंडा गत वर्षमात्र नभएर यो गत महिना भन्दा पनि किलोमा ४० रुपैयाँ बढेको हो ।
बिहीबार कालीमाटीमा गोलभेंडा ४५ रुपैयाँ किलो बिक्री भएको छ । गोलभेंडामात्र नभएर काउली, बोडी, भिण्डी, सिमी, परवललगायत तरकारीको भाउ एक सय प्रतिशतभन्दा धेरै बढेको छ । स्थानीय काउलीको मूल्य एक सय ११ प्रतिशतले बढेको छ । गत वर्ष ४५ रुपैयाँ किलो बिक्री भएको काउली अहिले बढेर ९५ रुपैयाँ पुगेको छ ।
कालीमाटी तरकारी बजारका अनुसार गत वर्षको तुलनामा बोडीको मूल्य ३५ रुपैयाँबाट ८५, सिमी ४५ बाट ९५, परवल, भिण्डी ४५ बाट ९५ रुपैयाँ किलो पुगेको छ । भन्टा ५५ बाट बढेर ७५ रुपैयाँ किलो, तितेकरेला ४५ बाट ८५, लौका ४५ बाट ७५, चिचिन्डो ५५ बाट ८५, घिरौंला ५५ बाट ८५ रुपैयाँ पुगेको छ ।
रायो साग किलोको ६५ बाट ९५, ब्रोकाउली ६५ बाट बढेर एक सय १५ रुपैयाँ पुगेको कालीमाटी तरकारी बजार समितिले जनाएको छ । सबै हरियो तरकारीको मूल्य बढे पनि आलु, प्याज, बन्दाको मूल्य भने यथावत छ । गाजरको मूल्य घटेको छ । नागरिक दैनिकबाट