दार्चुला जीप दुर्घटना : सबै ११ मृतकको सनाखत, यी हुन् ज्यान गुमाउने (नामावलीसहित)
दार्चुला, १८ फागुन । दार्चुलामा शुक्रबार राति भएको जीप दुर्घटनामा मृत्यु भएका ११ जनाकै सनाखत भएको छ ।
मृतकमध्ये नौ जना दार्चुलाका छन् भने दुई जना बैतडीका रहेको दार्चुला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक मदनसिंह धामीले जानकारी दिएका छन् ।
उनका अनुसार दुर्घटनामा दार्चुलाको दुहु गाउँपालिका–२ की हिकलाका ४१ वर्षीय कल्याणसिंह धामी, सोही ठाउँका १७ वर्षीया निर्मला बडाल, सोही ठाउँकी ३५ वर्षीया परुली धामी, दुहु गाउँपालिका–१ का २४ वर्षीय धनबहादुर बम, सोही गाउँपालिका–४ की ५५ वर्षीया अम्मरा बम, सोही ठाउँकी ७ वर्षीया आयुशा बम, सोही गाउँपालिका–१, पिपलचौरीकी ४५ वर्षीया गोमती बम, सोही ठाउँकी ७१ वर्षीया धाना बम र दुहु गाउँपालिका–१ की ५३ वर्षीया मानवती भट्टको मृत्यु भएको हो ।
यसैगरी बैतडीको दोगडाकेदार गाउँपालिका–६ सिलडका ६० वर्षीय प्रताप चन्द भनिने धनबहादुर चन्द र २१ वर्षीया स्नेहा बमको मृत्यु भएको प्रहरी नायब निरीक्षक धामीले जानकारी दिएका छन् ।
दार्चुलाको सदरमुकाम खलंगाबाट हिकिला जाँदै गरेको जीप डुहु गाउँपािलका–३ राताकाठामा शुक्रबार राति सवा ८ बजे दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो ।
दुर्घटनामा परी जीपका चालक दिपकसिंह धामी गम्भीर घाइते छन् । उनलाई थप उपचारका लागि भारतको पिथौरागढ लगिएको छ । उनको अवस्था पनि चिन्ताजनक नै रहेको प्रहरीले जनाएको छ । चालक समेत गरेर जीपमा १२ जना सवार रहेको पाइएको प्रहरी नायब निरीक्षक धामीले जानकारी दिएका छन् ।