आत्मनिर्णय गर्न पाउने व्यक्तिको अधिकार नै लोकतन्त्र :अशोक राई
इटहरी: सुनसरीको चार निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार भएका आदिवासी जनजाति नेता अशोक राईले आत्मनिर्णय गर्न पाउने व्यक्तिको अधिकार नै लोकतन्त्र भएको बताएको छ ।
लामो समय नेकपा (एमाले)को राजनीतिमा सक्रिय नेता राईले आफ्नो आत्मनिर्णयको अधिकार अरु कसैले गर्ने होइन आफैँले गर्न पाउने अधिकार प्राप्त गर्ने व्यवस्था नै लोकतन्त्र भएको बताए ।नेता राईले आफू अहिले लोकतन्त्रको आधार मजबुत बनाउने अभियानमा जुटेको बताए । वाम गठबन्धनका नाममा देश बनाउन वामपन्थीको सरकार जरुरी छ भनेर भ्रम छर्ने कार्य भइरहेकाले विगतप्रति हेक्का राख्न उनले धरानवासीलाई आग्रह गरेका छ ।
लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका राईले झण्डै तीन दशकदेखि धरानवासीले वामपन्थी नेतालाई निर्वाचनमा जिताउँदै आए पनि धरानवासीले त्यसको असल प्रतिफल नपाएकाले अब मतदान गर्दा लोकतन्त्र पक्षमा अभिमत दिन आग्रह गरे ।
नेपालमा प्रजातन्त्र आएपछि भएको पहिलो स्थानीय निर्वाचनमा तत्कालीन धरान नगरपालिकाका प्रमुखसमेत रहेका वाम नेता ध्यानबहादुर राई समेतको सहकार्यमा चुनावी प्रचार अभियानमा रहेका राईले राजनीतिक परिवर्तनको खास अनुभूति प्राप्त गर्नका लागि आफूलाई मतदान गर्न आग्रह गरे ।
राईले धरानमा जननायक गिरिजाप्रसाद कोइरालाले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तो चिकित्सा केन्द्र निर्माण गरेका कुरा स्मरण गराए।