भोटेकोशी बाढीका २ हजार २९४ बेपत्ताको विवरण सार्वजनिक


२०८३ कार्तिक २१ शनिबार १४:१५ बजे

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका ३२ जिल्लाका २ हजार २९४ जनाको नाम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको छ ।

प्राधिकरणले सम्बन्धित जिल्लाका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट यकिन भएर प्राप्त भएका विवरणका आधारमा सूची सार्वजनिक गरेको जनाएको छ ।

सार्वजनिक विवरणअनुसार सबैभन्दा धेरै बेपत्ता रसुवाका छन् । रसुवाबाट मात्रै १ हजार ५८३ जनाको नाम सूचीमा समावेश गरिएको छ ।

त्यस्तै धनकुटा, डडेल्धुरा, खोटाङ, भोजपुर, अछाम, कपिलवस्तु, जाजरकोट, सर्लाही, ललितपुर, कैलाली, महोत्तरी, बागलुङ, ताप्लेजुङ, जुम्ला, बाजुरा, कालीकोट, नवलपरासी पूर्व, उदयपुर, काभ्रेपलाञ्चोक, नवलपरासी पश्चिम, तेह्रथुम, रुकुम पूर्व, सप्तरी, बर्दिया, स्याङ्जा, रामेछाप, दाङ, सिन्धुपाल्चोक र सिन्धुलीका बेपत्ता व्यक्तिको विवरण पनि सार्वजनिक गरिएको छ ।

यसका अतिरिक्त सात देशका १७१ जना विदेशी नागरिकको बेपत्ता विवरणसमेत प्राधिकरणले सार्वजनिक गरेको छ । सबै बेपत्ताको विस्तृत विवरण प्राधिकरणको वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ ।

प्राधिकरणले सूचना जारी गर्दै सूचीमा नाम रहेका व्यक्ति जीवित रहेको वा फेला परेको भए सम्बन्धित व्यक्ति वा निजको एकाघरका परिवारका सदस्यलाई सात दिनभित्र दाबी पेस गर्न आग्रह गरेको छ ।

स्वदेशी नागरिकको विवरण स्थायी ठेगाना रहेको स्थानीय तहको सिफारिसका आधारमा सम्बन्धित जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयबाट तयार पारिएको हो । विदेशी नागरिकको हकमा भने सम्बन्धित मुलुकको नेपालस्थित कूटनीतिक नियोग वा नेपाल हेर्ने जिम्मेवारी पाएको नियोगबाट कन्सुलर सेवा विभागमार्फत प्राप्त विवरणका आधारमा सूची तयार गरिएको प्राधिकरणले जनाएको छ ।

३२ जिल्लाबाहेक अन्य जिल्लाका बेपत्ता व्यक्तिको विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट प्राप्त भएपछि तथा विदेशी नागरिकको थप विवरण सम्बन्धित नियोगबाट आएपछि पुनः सूचना प्रकाशन गरिने प्राधिकरणको भनाइ छ ।

प्राधिकरणको तथ्याङ्कअनुसार गत भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परी हालसम्म १ हजार ४५७ जनाको मृत्यु भएको छ भने ५ हजार २८५ जना बेपत्ता भएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७