नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक बनेको आरोपमा यादवविरुद्ध मुद्दा


२०८३ मङ्सिर ४ शुक्रबार १५:५१ बजे
फाइल फोटो

काठमाडौं : नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी प्राथमिक तहको शिक्षक बनेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराका एक शिक्षकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

बाराको सुवर्ण गाउँपालिका–६ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, मझरियामा कार्यरत शिक्षक धर्मेन्द्र प्रसाद यादवविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । 

यादवले शिक्षण पेसामा प्रवेश गर्दा पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरीका आधारमा आयोगले अनुसन्धान गरेको थियो ।

अनुसन्धानका क्रममा यादवले बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट जारी भएको देखिने इन्टरमिडिएट तह अर्थात् आईए उत्तीर्ण गरेको झुट्टा तथा नक्कली प्रमाणपत्र पेस गरी अभिलेखमा राखेको पुष्टि भएको आयोगले जनाएको छ ।

नक्कली प्रमाणपत्रका आधारमा राष्ट्रसेवकका रूपमा प्राथमिक तहको शिक्षक पदमा कार्यरत रही पद, ओहदा, लाभ तथा सुविधा प्राप्त गरेको भन्दै आयोगले यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजायको मागदाबी गरेको छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेले यादवविरुद्ध कैद र जरिवाना सजायको मागदाबीसहित आरोपपत्र दायर गरिएको जानकारी दिएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७