जीवन यात्रा र विश्रामको चाहना
आज म गर्वका साथ भन्न सक्छु, ‘जीवनले मलाई धेरै धन नदिएको हुन सक्छ। तर संसार देख्ने आँखा दियो। इतिहास बुझ्ने अवसर दियो। र ती अनुभवहरू कुनै पनि धनसम्पत्तिभन्दा अमूल्य छन्।’
मेरो जन्म पूर्वी पहाडी जिल्ला खोटाङको बुइपामा तर अति विपन्न परिवारमा भएको हो। संसारकै सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित त्यो सुन्दर गाउँ नै मेरो बाल्यकालको संसार थियो। गाउँमा हरेक कुराको अभाव थियो, तर प्रकृतिको अनुपम सौन्दर्य र गाउँले जीवनको न्यानोपनले मेरो जीवनलाई समृद्ध बनाएको थियो।
मेरो जीवनका पानाहरू पल्टाएर हेर्दा, त्यहाँ कुनै ठूलो सपना लेखिएको थिएन। न त धनको महल बनाउने चाहना थियो, न त नाम र प्रतिष्ठाको शिखर चुम्ने महत्त्वाकाङ्क्षा नै थियो। मेरो चाहना सधैँ सानो थियो- दिनको दुई छाक खाना, रात बिताउन एउटा सुरक्षित छानो र परिवारको अनुहारमा मुस्कान। यही साधारण चाहनाभित्र मैले जीवनको असली धन खोजेँ।
अठार वर्षको कलिलो उमेरमा ब्रिटिश गोर्खा सेनामा भर्ती हुँदा भविष्य कस्तो हुन्छ भन्ने मलाई थाहा थिएन। त्यसपछि बीस वर्षसम्म मैले बेलायती सरकारको सेवा गरेँ। सेवाको क्रममा संसारका धेरै कुनाकाप्चामा पुगेँ। राइफलको सिरानी लगाएर घना जङ्गलका अँध्यारा रातहरू बिताएँ। अरेबियन खाडीको नाङ्गो मरुभूमिको पोल्ने घाम सहेर युद्ध लडेँ। कहिलेकाहीँ चिसोले शरीर थर्थर काँप्थ्यो त कहिलेकाहीँ गर्मीले सास फेर्नसमेत गाह्रो हुन्थ्यो। तर त्यतिबेला मनमा एउटा कुरा मात्र थियो—आजको दुःखले भोलिको जीवन अलि सहज बनाओस्।
सन् २००४ मा मैले आफ्नो सैनिक पोसाक शरीरबाट खोलेर बुझाइदिएँ। त्यसपछि सामान्य नागरिक जीवनको नयाँ अध्याय सुरु गरेँ। तर त्यो परिवर्तन सजिलो थिएन। खाडी युद्धभूमिभन्दा कठिन सङ्घर्ष सुरु भयो। जागिरको खोजी, परिवारको जिम्मेवारी, भविष्यको चिन्ता र दिनदिनै चलिरहने सङ्घर्षले जीवनलाई एउटा निरन्तर परीक्षाजस्तै बनायो।
तर मेरो जीवनको यो लामो र कठिन यात्रामा म कहिल्यै एक्लो थिइनँ। मेरो साथमा मेरी श्रीमती थिइन्। उनी केवल जीवनसङ्गिनी मात्र थिइनन्, मेरा सङ्घर्षका सहयात्री, दुःखका दिनकी साथी र हरेक कठिन मोडमा मलाई सम्हाल्ने सबैभन्दा ठूलो शक्ति थिइन्।
मैले सैनिक जीवनमा बन्दुक बोकेर युद्धभूमिमा सङ्घर्ष गरेँ, तर उनले घरभित्रै अर्को अदृश्य युद्ध लडिरहिन्—परिवारको भविष्यका लागि, छोराछोरीको सपनाका लागि र हाम्रो जीवनलाई अभावबाट माथि उठाउनका लागि। उनले आफ्नो जीवनको अधिकांश समय बेलायतका होटलहरूमा क्लिनर र हाउसकिपरका रूपमा बिताइन्। अरूका लागि ती सामान्य काम थिए होलान्, तर हाम्रा लागि त्यही श्रम जीवनको आधार थियो।
जब संसारका धेरै मानिसहरू न्यानो ओछ्यानमा निदाइरहेका हुन्थे, उनी बिहान सबेरै उठेर काममा निस्कन्थिन्। होटलका कोठा, शौचालय र ओछ्यानहरू सफा गर्थिन्। घण्टौँसम्म उभिएर काम गर्थिन्। अरूले फोहोर बनाएका ठाउँहरू सफा गर्दै आफ्नो परिवारको भविष्य उज्यालो बनाउने सपना देख्थिन्। बेलायतको कठ्याङ्ग्रिने जाडो होस् वा थकाइले शरीर गल्ने दिन, उनको दैनिकीमा विश्रामभन्दा जिम्मेवारी ठूलो हुन्थ्यो।
कहिलेकाहीँ उनी साँझ थाकेर घर फर्किन्थिन्। उनका हातका छाला खस्रा भएका हुन्थे, शरीर गलिरहेको हुन्थ्यो र अनुहारमा दिनभरको थकान स्पष्ट देखिन्थ्यो। तर घरभित्र पसेपछि पनि उनको जिम्मेवारी सकिँदैनथ्यो। परिवारको चिन्ता, छोराछोरीको हेरचाह र भोलिको तयारी फेरि सुरु हुन्थ्यो। मैले उनलाई धेरैपटक थाकेको देखेँ, तर आफ्नो थकानलाई परिवारको खुसीभन्दा ठूलो बनाएको कहिल्यै देखिनँ।
उनले कहिल्यै आफ्नो दुःखको मूल्य मागिनन्। नयाँ लुगा, घुमफिर वा आफ्ना रहरका कुरा पनि परिवारको आवश्यकताभन्दा माथि राखिनन्। हामीसँग पैसा कम हुँदा उनले आफ्ना चाहनाहरू चुपचाप त्यागिन्। छोराछोरीको पढाइमा कुनै कमी नहोस् भनेर आफ्नो सुखसुविधा पछाडि सारिन्। हामीले छोराछोरीका लागि गरेको बचतमा उनको पसिना मात्र थिएन, उनले त्यागेका रहर, दबाएका इच्छा र अनगिन्ती मौन पीडाहरू पनि मिसिएका थिए।
कहिलेकाहीँ म उनलाई थकित अनुहार लिएर घर फर्केको देख्थेँ। मनमा अनेक प्रश्न उठ्थे। के मैले उनलाई सुख दिन सकेँ? के उनको जीवन पनि मेरा जस्तै सपनाहरूले भरिएको थिएन? तर उनले कहिल्यै मलाई दोष दिइनन्। बरु मुस्कुराउँदै भन्थिन्,'यतिका दुःख सबै हाम्रा छोराछोरीको सपना साकार पार्नका लागि हो।'
उनको यही एउटा वाक्यमा हाम्रो जीवनको सम्पूर्ण सङ्घर्ष अटाएको थियो। त्यो मुस्कानभित्र कति पीडा लुकेको थियो, कति आँसु रोकिएका थिए र कति रहरहरू मारिएका थिए, त्यो सायद मबाहेक कसैले बुझ्न सक्दैन।
आज छोराछोरीको भविष्य सम्झिँदा मलाई गर्व लाग्छ। तर त्यो गर्वको पछाडि मेरी श्रीमतीको पसिना, त्याग र समर्पणको ठूलो हिस्सा छ। मैले जीवनमा जे-जति सङ्घर्ष गरेँ, त्यसलाई सफल बनाउने अदृश्य शक्ति उनी नै थिइन्। मेरो जीवनको सफलताको कथा लेखिँदा त्यसको सबैभन्दा महत्त्वपूर्ण अध्याय मेरी श्रीमतीको नाममा लेखिनुपर्छ। किनकि मैले बाहिरको संसारसँग लडिरहँदा उनले घरभित्रै जीवनका कठिनतम लडाइँहरू लडिरहेकी थिइन्।
मेरो जीवन सङ्घर्षले भरिएको थियो। तर सङ्घर्षले मेरो मनभित्रको एउटा सपना कहिल्यै मर्न दिएन। त्यो सपना थियो—संसारलाई आफ्नै आँखाले हेर्ने, मानिसहरूलाई बुझ्ने र सत्यको खोजी गर्ने। त्यसैले म केवल देशहरू घुम्न चाहन्नथेँ। जीवनको अर्थ खोज्न चाहन्थेँ। त्यसैले मेरा पाइला संसारका विभिन्न पवित्र भूमिहरूतर्फ मोडिए।
म पटक-पटक लुम्बिनी पुगेँ, जहाँ सिद्धार्थ गौतमले जन्म लिएर बुद्ध बन्ने यात्रा सुरु गरेका थिए। म वृन्दावन पुगेँ, जहाँ कृष्णका कथाहरू आज पनि हावामा गुञ्जिरहेझैँ लाग्छन्। जेरुसेलमदेखि म बेथलेहेम, प्यालेस्टाइन पुगेँ, जहाँ येशू ख्रीष्टको जन्म भएको विश्वास गरिन्छ। म पोपको निवास रहेको रोमको भ्याटिकन पुगेँ, जहाँ करोडौँ क्याथोलिक मानिसहरूको आस्था केन्द्रित छ।
ती यात्राहरू मेरा लागि व्यर्थ थिएनन्। किनकि संसारका ती पवित्र भूमिहरू घुम्दै जाँदा मैले एउटा अद्भुत कुरा महसुस गरेँ। मैले खोजिरहेको ईश्वर कुनै मन्दिर, देवालय, मस्जिद, गिर्जाघर वा तीर्थस्थलभित्र होइन, मेरो आफ्नै आत्माको गहिराइमा लुकेको रहेछ।

मैले बुझेँ, जब म कसैको दुःखमा साथ दिन्छु। कसैको आँसु पुछिदिन्छु। कसैलाई आशा दिन्छु। कसैलाई हृदयदेखि नै सहयोग गर्छु। तब मभित्रको ईश्वर जाग्छ। जब म मानवताको पक्षमा उभिन्छु, तब म आफैँ ईश्वरको एउटा अंश बन्छु। तर यदि म स्वार्थ, घृणा, अन्याय वा क्रूरताको बाटो हिँड्छु भने, त्यही आत्माभित्र अन्धकार जन्मिन्छ। त्यसबेला मानिस आफैँ शैतान बन्ने रहेछ।
मेरो जीवनले मलाई केवल एउटा देश वा एउटा महादेशमा सीमित राख्न सकेन। सैनिक जीवनले सुरु गरेको यात्रा पछि मेरो मनमा संसारलाई आफ्नै आँखाले हेर्ने, इतिहासलाई आफ्नै पाइतालाले छुने र सभ्यताका कथाहरूलाई आफ्नै अनुभूतिमा उतार्ने तीव्र इच्छा जाग्यो।
म केवल घुम्नका लागि यात्रा गर्दिनथेँ। म इतिहास खोज्न यात्रा गर्थें। म ती ठाउँमा पुग्न चाहन्थेँ, जहाँ मानव सभ्यताले आफ्नो अमिट छाप छोडेको छ।
चीन पुगेर जब म महान् पर्खालको अगाडि उभिएँ, तब मेरो मनमा एउटै प्रश्न आयो, "त्यो समयका मानिसहरूले यस्तो विशाल संरचना कसरी बनाए होलान्?" हजारौँ वर्षअघिका ती श्रमिकहरूको पसिना, दुःख र समर्पणको कथा मानौँ ती ढुङ्गाहरूले अझै पनि सुनाइरहेका थिए।
भारतमा ताजमहलको सेतो सौन्दर्य हेर्दा म केवल एउटा महल हेर्दै थिइनँ। म प्रेमको इतिहास पढ्दै थिएँ। एउटा सम्राट्ले आफ्नी प्रिय रानीको सम्झनामा बनाएको त्यो अद्वितीय स्मारकले मलाई बुझायो कि साँचो प्रेम समयभन्दा पनि बलियो हुँदो रहेछ।
इजिप्टमा पुगेर गिजाका पिरामिडहरू सामुन्ने उभिँदा लाग्थ्यो, मानौँ म हजारौँ वर्ष पछाडि फर्केको छु। विश्वका ती अद्भुत चमत्कारहरूलाई नजिकबाट हेर्दा मानव प्रतिभा र कल्पनाशक्तिको विशालता महसुस भयो। त्यहाँ उभिएर खिचिएका तस्बिरहरू केवल सम्झना होइनन्, मेरा जीवनका उपलब्धिहरू हुन्।
मेरो एउटा सपना थियो—इतिहासलाई पुस्तकका पानामा मात्र होइन, वास्तविक भूमिमा टेकेर पढ्ने। त्यसैले म रोम, इटाली पुगेँ। कोलोसियमको अगाडि खिच्च दाँत देखाएर तस्बिर खिचेँ। जनरल जुलियस सिजरले छाडेका रोमन साम्राज्यका अवशेषहरूमाझ हिँड्दा लाग्थ्यो, मानौँ इतिहास आफैँ बोलिरहेको छ।
कन्स्टान्टिनोपल (हालको इस्तानबुल) को छातीमा टेकेर उभिँदा ओटोमन साम्राज्यको वैभव र शक्तिको अनुभूति भयो। नेपोलियनले टेकेका पेरिसका गल्लीमा हिँड्दा फ्रान्सेली क्रान्तिका प्रतिध्वनिहरू सुनेझैँ लाग्यो। ओलिभर क्रमवेलले मेहनतका साथ खडा गरेका लन्डन, इङ्ग्ल्यान्डमा एक दिनभरि घुम्दा अंग्रेजी गृहयुद्ध र इतिहासका धेरै मोडहरू सम्झिएँ।
वासिङ्टन डी.सी. पुगेर जर्ज वासिङ्टनले अमेरिकी स्वतन्त्रता सङ्ग्राममा खेलेको भूमिकाको कथा बेसरी सम्झिएँ। अनुशासनको राजधानी टोकियोमा जापानी साम्राज्यको उदय र दोस्रो विश्वयुद्धले पुर्याएको क्षतिको इतिहासलाई महसुस गरेँ। तर विश्वका धेरै देशहरूमा पुग्दा बेलायती उपनिवेशवादले विश्वलाई कसरी परिवर्तन गर्यो भन्ने कुरा आफ्नै आँखाले देख्न पाएँ।
मलाई केवल मानिसहरूको इतिहास मात्र होइन, मानव उपलब्धिहरूको कथा पनि आकर्षित गर्थ्यो। इजिप्टको सुएज नहर र पानामाको पानामा नहर हेर्न पुग्दा मैले बुझें कि मानिसको दृढ सङ्कल्पले समुद्रहरूलाई पनि जोड्न सक्छ। ती नहरहरू केवल पानी बग्ने बाटा होइनन्, मानव बुद्धिमत्ता, साहस र दूरदृष्टिका जीवित स्मारक हुन्।
यात्राका क्रममा मैले संस्कृतिलाई केवल सङ्ग्रहालयमा देखिनँ, भोजनमा पनि चाखेँ। हङकङका टेम्पल स्ट्रिटका गल्लीदेखि मरिना बे, सिङ्गापुरसम्म मेरा गोडाहरूलाई दुःख दिएँ। अरेबियन सागरको किनारमा एक्लै उभिएको तर विश्वको एक मात्र साततारे दुबईको बुर्ज अल अरब होटलदेखि सुल्तानको डलरमा लुटपुटिएका लन्डनको डोर्चेस्टर होटलसम्म पुगेर मैले विभिन्न स्वादहरू अनुभव गरेँ। प्रत्येक मिचिलिन परिकारसँग एउटा देशको कथा जोडिएको भेटेँ। भोजनको प्रत्येक स्वादले एउटा नयाँ संस्कृति चिनाएको अनुभव भयो।
आज जब म आफ्नो जीवनलाई फर्केर हेर्छु, मसँग करोडौँ रुपैयाँको सम्पत्ति छैन होला, तर अनुभवहरूको अथाह भण्डार छ। मैले इतिहासका पुस्तकहरू मात्र पढिनँ, इतिहास हिँडेर पनि पढेँ। मैले संसारका अद्भुत संरचनाहरूका तस्बिर मात्र खिचिनँ, तिनका पछाडि लुकेका कथा पनि महसुस गरेँ।
सायद यही कारणले आज म गर्वका साथ भन्न सक्छु, "जीवनले मलाई धेरै धन नदिएको हुन सक्छ। तर संसार देख्ने आँखा दियो। इतिहास बुझ्ने अवसर दियो। र ती अनुभवहरू कुनै पनि धनसम्पत्तिभन्दा अमूल्य छन्।"
मलाई सधैँ लाग्थ्यो, संसार केवल हेर्नका लागि होइन, बुझ्नका लागि बनेको हो। त्यसैले मेरा यात्राहरू केवल मनोरञ्जनका लागि थिएनन्, ती ज्ञान, जिज्ञासा र आत्मखोजका यात्राहरू थिए। म जहाँ पुगेँ, त्यहाँका सडक र घरहरू मात्र हेरेर फर्किनँ, त्यहाँको इतिहास पढ्ने, कला महसुस गर्ने र मानिसहरूको आत्मा बुझ्ने प्रयास गरेँ।
कलाप्रतिको मेरो प्रेमले मलाई लन्डनको राष्ट्रिय ग्यालरीदेखि रुसको सेन्ट पिटर्सबर्गस्थित हर्मिटेज सङ्ग्रहालयसम्म पुर्यायो। त्यहाँ उभिएर मैले लियोनार्दो दा भिन्चीका अद्भुत रचनाहरू, राफेलका सौन्दर्यले भरिएका चित्रहरू, माइकल एन्जेलोको अनुपम प्रतिभा र भ्यान गगका भावनाहरूले भरिएका रङहरूलाई नजिकबाट नियालेँ। कहिलेकाहीँ लाग्थ्यो, ती चित्रहरू क्यानभासमा होइन, मानव आत्माको गहिराइमा कोरिएका छन्। एउटा चित्रले हजार शब्दभन्दा बढी कथा बोल्न सक्ने रहेछ भन्ने अनुभूति त्यहाँ प्राप्त भयो।
तर मेरो यात्रा केवल सङ्ग्रहालय र कलादीर्घासम्म सीमित रहेन। म संसारको वास्तविक अनुहार पनि हेर्न चाहन्थेँ। त्यसैले काबुकिचो, टोकियोदेखि बैंककको सोई काउबोय वा पातपोङ हुँदै आम्सटरडमको डे वालेनमा रहेका रातो बत्तीका जिल्लासम्म पुगेँ। ती स्थानहरूमा मैले मनोरञ्जनभन्दा बढी समाजका विभिन्न तह, मानिसहरूको चाहना, कमजोरी, सङ्घर्ष र यथार्थलाई राम्ररी देख्न सकेँ। मानिस जहाँसुकै होस्, उसको कथा जस्तोसुकै होस्, तर पनि भित्री चाहना उस्तै हुने रहेछ भन्ने बुझाइ त्यहाँबाट पाएँ।
पूर्वी युरोपका प्रायः सबै प्रमुख सहरहरू घुम्दा प्रत्येक सहर एउटा खुला इतिहासको पुस्तकजस्तो लाग्थ्यो। रियाल्टो पुल, भेनिसका मुनि नहरमा बग्ने पानीले शताब्दी पुराना व्यापार, प्रेम र सभ्यताका कथा सुनाइरहेको अनुभव हुन्थ्यो।

सैनिक सेवाको क्रममा कोसोभो
पश्चिम क्यानडामा अवस्थित सुन्दर सहर भ्यानकुभरदेखि गेराङ्गर फियोर्ड, नर्वेसम्म पुगेर भेटिएका मानिसहरूको आत्मीयता र सरलताले मलाई सधैँ प्रभावित पारिरह्यो। संसारका विभिन्न भाषा, धर्म, रीतिरिवाज र संस्कृतिभित्र पनि मानवीय सद्भावना उस्तै रहने रहेछ भन्ने मैले राम्ररी नै बुझेको छु।
नर्वेजियन फियोर्ड पुगेपछि मानिसहरूबाहेक पृथ्वीमा रहेका विभिन्न समुद्रहरूसँग मेरो विशेष सम्बन्ध रहन गयो। मृत सागरको मौनता, उत्तरी सागरको हलचलको कठोरता, भूमध्यसागरको ऐतिहासिक गहिराइ र क्यारिबियन समुद्रको नीलो सौन्दर्यले मेरो मनमा अमिट छाप छोडेका छन्।
तिनै समुद्रहरूको बीचमा अचानक खडा भएका साइप्रस, रोड्स, क्रेट, माल्टा, आइबिथा, लान्जारोटे, मल्लोर्का र फुएर्तेभेन्चुरा टापुहरू पुगेका क्षण अथवा यसो भनौँ, चाहे त्यो क्यारिबियन होस् वा क्यानरी टापुहरू, तिनीहरूका किनारामा उभिँदा मैले प्रकृतिलाई कलाकारका रूपमा देखेँ, जसले हरेक दिन ज्वारभाटासँगै नयाँ चित्र कोर्दो रहेछ।
जीवनमा मलाई अर्को ठूलो सौभाग्य पनि प्राप्त भयो। किनभने मैले अहिलेसम्म अठार पटक त पानीजहाज (क्रुज) यात्रा गरिसकेको छु। तिनै क्रुज यात्रादेखि धर्तीको एक छेउदेखि अर्को छेउसम्म पटकपटक पुग्न सकेँ। अझ यसो भन्दा पनि हुन्छ, ती यात्रामा मैले एटलान्टिक महासागरका विशाल छालहरू र प्रशान्त महासागरको असीम विस्तार देखेँ।
कुनैकुनै बेला पानीजहाजको अठार तलाको डेकमा आरामसाथ कुर्सीमा जीवनसङ्गिनीसँग बसेर टाढा क्षितिजतिर हेर्दा यस्तो लाग्थ्यो, मानव जीवन कति सानो र संसार कति विशाल रहेछ। झन् प्रशान्त सागरको बीचमा पुगेर मरियाना ट्रेन्चको अथाह गहिराइबारे सोच्दा प्रकृतिको रहस्यप्रति अझ बढी सम्मान जाग्थ्यो।
पानीसँग मेरो आकर्षण समुद्रमा मात्र सीमित रहेन, नदीमा पनि रह्यो। कोलोराडो नदी, अमेरिकाको गहिराइ र ह्वाङ्हो नदी, चीनको दुःख अनुभव गरेँ। मैले डेन्युब नदीका किनारामा रहेका विभिन्न राष्ट्रका राजधानी वा सहरहरूको इतिहास पानीसँगसँगै बहेको देखेँ। लगभग ६ हजार ८ सय ५३ किलोमिटर लामो संसारको सबैभन्दा लामो नाइल नदीमा क्रुजिङ गर्दा मानव सभ्यताको प्रारम्भिक कथा मज्जाले सम्झिएँ र आँखा चिसा बनाएँ।
नदीहरूबाहेक मैले विभिन्न झरनाहरूको सुन्दर दृश्य हेरेँ। राइन फल्स र नायाग्रा फल्स पुगेर झरनाको गर्जन सुन्दा प्रकृतिको शक्ति कस्तो अद्भुत हुन्छ भन्ने महसुस गरेँ। ती झरनाहरू हेर्दा लाग्थ्यो, वास्तवमा मानिसको जीवन पनि पानीजस्तै हो। कहिले शान्त, कहिले उर्लँदो भेल, तर सधैँ अगाडि बगिरहने रहेछ।
“यदि तपाईंले राजनीति गर्नुभएन भने तपाईंभन्दा कमजोरले तपाईंलाई शासन गर्छ” भन्ने बुझेपछि राजनीतिप्रति पनि मेरो गहिरो रुचि भयो।
त्यसैले म केवल पुस्तकहरू पढेर सन्तुष्ट भइनँ। लन्डनको हाईगेटमा कार्ल मार्क्सको समाधिस्थल पुगेँ। साओसान, चीनमा पुगेर माओ त्से तुङको जन्मघर हेरेँ। साल्फोर्ड, म्यानचेस्टरमा फ्रेडरिक एंगेल्ससँग जोडिएका औद्योगिक इतिहासका पदचिह्न खोजेँ। नेपोलियन बोनापार्टको जन्मघर आजासियो, कोर्सिकादेखि एडम स्मिथको समाधिस्थल एडिनबर्गसम्म मेरा पाइतालाहरू पुर्याएँ। जर्मनीलाई फनफनी चक्कर मारेँ। त्यहाँ पुगेर फ्रेडरिक नित्सेको दर्शन र इमान्युएल कान्टको नैतिकताको पाठले मलाई हृदयमा चट्ट छोएको छ भन्ने बुझेँ।
त्यसबाहेक लियोन ट्रोट्स्कीले बिताएको सेन्ट पिटर्सबर्गको झ्यालखानाको अँध्यारो तर बिलकुल साँघुरो कोठा अवलोकन गरेपछि स्टालिनलाई सम्झँदै सियाम रिप, कम्बोडिया पुगेको थिएँ। एङ्कोरवाटमा पुगेर पोलपोटको इतिहाससँग जोडिएका पीडाका निशानहरू आफ्नै आँखाले देखेँ। ग्दान्स्क, पोल्यान्ड पुगेर लेक वालेसाको सङ्घर्षलाई सम्झिएँ। उनैले पूर्वी युरोपको साम्यवादी शासन तहसनहस पारिदिएका थिए। यी यात्राहरूले मलाई राजनीति केवल सत्ता मात्र होइन, मानव आशा, पीडा र परिवर्तनको कथा पनि हो भन्ने सिकाएका छन्।
मलाई सधैँ विश्वास थियो कि यात्रा आफैँमा एउटा विश्वविद्यालय हो। त्यसैले अक्सफोर्ड विश्वविद्यालयका उनन्चालिसवटा कलेज र चारवटा हलहरू एकएक गरेर हेर्ने इच्छा पूरा गरेँ। हार्वर्ड विश्वविद्यालय, बोस्टनको प्राङ्गणमा उभिएँ र जोन हार्वर्डको सालिकसँग तस्बिर खिचेँ। बोलोनिया, इम्पेरियल कलेज, एलएसई, वारविक, एमआईटी र सेन्ट पिटर्सबर्ग विश्वविद्यालयका परिसरहरूमा कावा खाँदै घुमेँ। ती भवनहरू केवल इँटा र ढुङ्गाले बनेका संरचना थिएनन्। ती मानव ज्ञान, अनुसन्धान र सपनाका मन्दिरजस्तै थिए।
सायद मैले प्राप्त गरेको सबैभन्दा ठूलो शिक्षा कुनै कक्षाकोठाले दिएको होइन। त्यो शिक्षा यात्राले दिएको हो। यही संसारले दिएको हो। यही संसारमा बस्ने मानिसहरूले दिएको हो। अनि यही कारणले म आफ्ना छोराछोरीलाई शिक्षाको परिभाषासहित सधैँ यसो भन्थेँ—
"मैले तिमीहरूलाई सम्पत्ति धेरै छोड्न नसकूँला। तर मेरो अनुभव तिमीहरूको शिक्षा हो। मैले पढेका पुस्तकहरूभन्दा बढी मैले हिँडेका बाटाहरूले मलाई सिकाएका छन्। संसार हेर्नू, मानिसहरू बुझ्नू, इतिहासबाट सिक्नू। किनकि यात्रा केवल एक ठाउँबाट अर्को ठाउँमा पुग्नु मात्र होइन। यात्रा भनेको आफूलाई अझ राम्रोसँग चिन्नु हो।"
तिनै मेरा कुरा सुनेर आज छोरा बेलायतको अक्सफोर्ड विश्वविद्यालय अस्पतालमा ठूलो आन्द्रा र मलाशयसम्बन्धी रोगहरूको शल्यचिकित्सक (कोलोरेक्टल सर्जन) का रूपमा कार्यरत छन्। मेरो औँला समातेर विद्यालय जाने त्यो सानो बालक आज बिरामीहरूको जीवन बचाउने जिम्मेवारी बोकेको चिकित्सक बनेको छ। गाउँमा फाटेको कट्टु लगाएर हुर्केको अबोध त्यो बालकलाई जब म अहिले सेतो कोटमा देख्छु, मेरो मन गर्वले भरिन्छ। गौरवले छाती फुलिएर आउँछ। आँखाका कुना चिसाचिसा हुन्छन्। अनायास आँसु टिलपिलाउन खोज्छन्। तर एकजना गरिब बाबुले निभाएको उत्तरदायित्वमा म खुसी छु।

मेरी छोरीले लन्डनको चर्चित विश्वविद्यालय क्विन मेरीबाट कानुनमा डिग्री पूरा गरिन्। अहिले उनी बर्मिङ्घमको एक प्रतिष्ठित कानुनी फर्ममा सोलिसिटर (वकिल) छिन्। नारीलाई सदैव अन्याय गर्ने पुरुषप्रधान समाजमा कानुनकी विद्यार्थी छोरीले महिनाको अन्त्यमा जब आफ्नो तलब प्राप्त गर्छिन्, तब उनको अनुहारमा देखिने मुस्कानले मेरो मन आनन्दले भरिन्छ। त्यो मुस्कान केवल कमाइको खुसी होइन, बरु वर्षौँको मेहनत, परिश्रम, अध्ययन, सङ्घर्ष र समर्पणको प्रतिफल हो। एक बाबु हुनाका नाताले उनको सफलता देख्दा मलाई गर्व र सन्तुष्टिले छाती फुलिएर आउँछ। जीवनभर सन्तानको उज्ज्वल भविष्यको सपना देखेर गरेको परिश्रम सफल भएको महसुस हुन्छ। उनको आत्मविश्वासले भरिएको अनुहार हेर्दा लाग्छ, मेरा सबै दुःख र सङ्घर्षहरू सार्थक भएका छन्।
आज म बासट्ठी वर्षको भएँ। जीवनको लामो यात्रालाई फर्केर हेर्दा लाग्छ, मैले धेरै बाटाहरू हिँडेँ, धेरै मानिसहरूलाई भेटेँ, धेरै देशहरू देखेँ, धेरै दुःखहरू भोगेँ।
लगभग त्रिचालिस वर्षअघि रिकुटे भएर एक साधारण पैदल सैनिकका रूपमा ब्रिटिश गोर्खा सेनामा आफ्नो यात्रा सुरु गरेको थिएँ। समय बित्दै जाँदा सैनिक जीवनले मलाई नयाँ सीपहरू सिकायो। म सैन्य ट्रक चालक बनेँ र झन्डै बीस वर्षसम्म संसारका विभिन्न भूगोलमा गाडी चलाउँदै आफ्नो कर्तव्य पूरा गरिरहेँ। ताइमोसान, हङकङका उकालो–ओरालाहरू, अरेबियन मरुभूमिका धुलाम्मे बालुवाहरू, बाल्कनका साँघुरा बाटाहरूमा मेरा सैनिक जीवनका अनगिन्ती जिम्मेवारीबीच यौवन बित्यो।
जब सेनाको जीवन समाप्त भयो, मैले सोचेँ, "अब आफ्नै केही गरौँ, व्यवसाय गरौँ, पैसा कमाऔँ।" तर सपना देख्नु र सपना पूरा गर्नु एउटै कुरा रहेनछ। मसँग व्यापारको अनुभव थिएन, ज्ञान थिएन, मार्गदर्शन गर्ने कोही थिएन। त्यसैले त्यो बाटो धेरै टाढासम्म जान सकिनँ।
जीवन चलाउन फेरि जागिरको खोजी गर्नुपर्यो। कहिले सुरक्षा गार्डका रूपमा आफूलाई प्रस्तुत गरेँ। कहिले रेस्टुरेन्टमा भाँडा माझेँ। कहिले ट्रक चालक भई टोपलेँ। कहिले अरूको सहयोगी श्रमिक भएँ। तर आज म एउटा नगर परिषद्को कार्यालय सहयोगी (पियन) का रूपमा काम गरिरहेको छु।
तर उमेर बढ्दै जाँदा शरीर पहिले जस्तो रहेन। पहिले घण्टौँ उभिन सक्थेँ। भारी जिम्मेवारी उठाउन सक्थेँ। अहिले सक्दिनँ। थकान चाँडै लाग्छ। कहिलेकाहीँ आफ्नै शरीरले बिस्तारै विश्राम खोज्न थालेको अनुभूति हुन्छ।
अब म विश्रामको खोजीमा छु। तर अवकाशको कुरा सोच्दै गर्दा मन शान्त हुँदैन। रातको बीचमा एक्कासि आँखा खुल्छ। घर शान्त हुन्छ। परिवारका सबै सदस्यहरू गहिरो निद्रामा हुन्छन्। तर मेरो मनभित्र भने प्रश्नहरूको आँधीबेहरी चलिरहेको हुन्छ।
“कमाइ बन्द भएपछि जीवन कसरी चल्ला र?” सपनामा देख्छु र विपनामा झस्कन्छु। फेरि सोच्छु, “होइन! तर कति वर्ष बाँचूँला र?”
यी प्रश्नहरूको उत्तर मसँग छैन। कहिलेकाहीँ चिन्ता यति गहिरो हुन्छ कि निद्रा हराउँछ। भविष्यको अनिश्चितताले मन भारी बनाउँछ। बाहिरबाट हेर्दा म शान्त देखिन सक्छु, तर मनभित्र डर, चिन्ता र बेचैनीको एउटा मौन युद्ध चलिरहेको हुन्छ।
सबैभन्दा ठूलो कुरा, म आफ्ना छोराछोरीको बोझ बन्न चाहन्नँ। उनीहरूले आफ्नो जीवन बनाउन धेरै मेहनत गरेका छन्। उनीहरू आज आफ्नो क्षेत्रमा सफल छन्। उनीहरूका आफ्नै सपना छन्, आफ्नै जिम्मेवारीहरू छन्। एक बाबुको रूपमा मेरो चाहना सधैँ यही रह्यो कि म उनीहरूलाई केही दिन सकूँ, उनीहरूबाट लिनु नपरोस्।
सायद यही कारणले होला, आर्थिक सहयोगको कुरा सोच्दा पनि मन असहज हुन्छ। संसारका सबै मानिसहरू जस्तै उनीहरूले पनि आफ्नो पसिनाले कमाएको पैसा जोगाएर राखेका छन्। त्यो उनीहरूको अधिकार हो। मैले जीवनभर आफ्नो खुट्टामा उभिन सिकेको छु। त्यसैले बुढेसकालमा पनि सकेसम्म आफ्नो बाटो आफैँ हिँड्न चाहन्छु।
तर समयले एउटा कुरा सिकाएको छ। सफलता सधैँ बैंक खाताको रकमले नापिँदैन। यदि सफलता धनले मात्र मापन हुन्थ्यो भने, सायद म सफल मानिसहरूको सूचीमा पर्दिनँ होला। तर यदि सफलता इमानदारीले बाँचेको जीवन, कर्तव्यप्रतिको निष्ठा, परिवारप्रतिको समर्पण र सन्तानहरूको सफल भविष्यले मापन हुन्छ भने, म आफैँलाई असफल भन्न सक्दिनँ।
मैले जीवनभर कडा परिश्रम गरेँ। मैले करोडौँ कमाइनँ, तर इमानदारी कहिल्यै बेचिनँ। परिवारको जिम्मेवारी पूरा गरेँ। आफ्ना छोराछोरीलाई उभिन सक्ने आधार दिएँ। तर आफ्नै घर बनाउन सकिनँ, न त कुनै राम्रो गाडी किन्ने रहर पूरा गर्न सकेँ। तैपनि, मेरा छोराछोरीको सफलता र परिवारको खुसी नै मेरो जीवनको सबैभन्दा ठूलो सम्पत्ति हो।
आज जीवनको साँझमा उभिएर म एउटा कुरा महसुस गर्छु—मानिसको सबैभन्दा ठूलो उपलब्धि उसले कति कमायो भन्ने होइन, उसले आफ्ना प्रियजनका लागि कति त्याग गर्यो भन्ने रहेछ।
अब अवकाशको सङ्घारमा आइपुग्दा मनमा कुनै पश्चात्ताप छैन। केवल एउटा गहिरो सन्तोष छ। मैले र मेरी श्रीमतीले जीवनभर सङ्घर्ष गर्यौँ। कहिल्यै हार मानेनौँ, र आज हाम्रा सन्तानहरू आफ्नो आकाशमा उज्याला तारा बनेर चम्किरहेका छन्।
जब साँझ पर्छ र म शान्त आकाशतिर हेर्छु, मनभित्र एउटा भावुक अनुभूति जाग्छ। जीवनले हामीलाई धेरै परीक्षा दियो, धेरै आँसु दियो। तर अन्ततः यही जीवनले गर्व गर्ने कारण पनि दियो। र, त्यसबेला मनले चुपचाप भन्छ—
"हामीले धनी जीवन बाँचेनौँ। तर अर्थपूर्ण जीवन बाँच्यौँ। हामीले ऐश्वर्य छोडेनौँ। तर मूल्य र संस्कार छोड्यौँ। र, यही हाम्रो जीवनको सबैभन्दा ठूलो उपलब्धि हो।"
अब जीवनको साँझ नजिकिँदै छ। जति नै टाढा पुगे पनि, जति नै संसार चहारे पनि, अन्ततः मानिस फर्किने ठाउँ उही जन्मभूमि रहेछ। सायद मेरो यात्रा पनि त्यही सत्यतर्फ अघि बढिरहेको छ। अवकाश जीवनको स्वाभाविक अध्याय हो, जसबाट कोही पनि उम्कन सक्दैन। जीवनका सबै योजना सफल भए भने राम्रो, नभए पनि दुःख मान्नुपर्ने कारण छैन।
हुन त भाग्यको खेल पनि अनौठो हुन्छ। म कलिलो उमेरमै आफ्नो गाउँ छोडेर उज्ज्वल भविष्यको खोजीमा निस्किएको थिएँ। पहाडी भेगका ती अप्ठ्यारा गोरेटाहरू छाडेर बाहिर निस्किएको थिएँ। आँखामा कुनै स्पष्ट सपना थिएन। संसार कस्तो छ भन्ने ज्ञान थिएन। मन खाली थियो, हात खाली थिए। तर हृदयमा साहस थियो।
आज, म फेरि त्यहीँ पहाडको काखमा फर्किने तयारी गर्दै छु। म फर्किँदै छु उही ठाउँमा, जहाँ दिखुवा खोला छ र त्यसमा मेरो दिलजस्तै बहने स्वच्छ र सङ्लो पानी छ। जहाँबाट सुन्दर भविष्यको खोजीमा एक दिन हिँडेको थिएँ।
तर पहिलेभन्दा अहिले एउटा कुरा भने बिल्कुलै फरक छ। त्यसबेला मेरो झोला हलुका थियो। झोलासँग मेरो मन पनि खाली थियो। आज मेरो झोला सायद त्यति भरिएको त छैन, तर मन अनुभव, स्मृति, ज्ञान र जीवनका पाठहरूले भरिएको छ। मैले संसारका बाटाहरू हिँड्दा केवल देशहरू देखिनँ, जीवनलाई बुझ्न सिकेँ।
एथेन्समा रहेको एक्रोपोलिस डाँडाको टुप्पामा उभिँदा म कल्पना गर्थें। यो यही भूमि हो, जहाँ सुकरातले म जस्तै ठिङ्ग उभिएर मानव जीवनका लागि सबैभन्दा बढी सोचेका थिए। आकाश यहीँ माथिको हो, त्यसको ठीक मुनि प्लेटोले आफ्ना दार्शनिक विचारहरू व्यक्त गरेका थिए। माटो यिनै हुन्, जहाँ अरस्तुले ज्ञानका बीउ रोपेका थिए।
ती सिँढीका ढुङ्गाहरूले मानौँ मलाई सम्झाइरहेका थिए कि वास्तविक सम्पत्ति धन होइन, ज्ञान हो। वास्तविक विजय अरूमाथि होइन, आफूमाथि प्राप्त गरिने विजय हो।
फ्लोरेन्स, इटालीका गल्लीहरूमा हिँड्दा पुनर्जागरणको आत्मासँग साक्षात्कार गरेँ। त्यही भूमिमा निकोलो म्याकियाभेलीले संसारलाई शक्ति, नेतृत्व र यथार्थको पाठ सिकाएका थिए। उनका विचारहरू पढ्दा मैले बुझें। जीवनमा कहिलेकाहीँ सिंहजस्तो साहसी र फ्याउरोजस्तो बुद्धिमान् हुनुपर्छ। राजनीतिमा केवल बलले मात्र जीवन जितिँदैन, विवेकले पनि बाटो देखाउनुपर्छ।
यात्राले मलाई विद्यालयले दिन नसक्ने शिक्षा दियो। समुद्रहरूले धैर्य सिकाए। पहाडहरूले दृढता सिकाए। मानिसहरूले मानवता सिकाए। र, परिवारले प्रेमको अर्थ सिकायो।

आज जब म आफ्नो गाउँ फर्किने कुरा सोच्दछु, मलाई लाग्छ, म हारेर फर्किएको होइन। म त जीवनको विश्वविद्यालयबाट दीक्षित भएर फर्किँदै छु। हो, मसँग सुनका महलहरू छैनन्। मसँग अपार सम्पत्ति छैन। तर मसँग अथाह कथाहरू छन्। संसारका कुनाकाप्चाबाट सङ्कलित अनुभवहरू छन्। सङ्घर्षबाट जन्मिएको आत्मविश्वास छ। र, समयले बिस्तारैबिस्तारै प्रदान गरेको बुद्धि छ।
सायद यही मेरो वास्तविक धन हो। जब म फेरि आफ्नो गाउँको नुनथला डाँडामा उभिएर सगरमाथाको विशाल छाती नियाल्छु, त्यतिबेला मनले चुपचाप भन्नेछ, 'म जहाँबाट हिँडेको थिएँ, फेरि त्यहीँ आइपुगेँ। तर यसपटक म खाली हात फर्किएको छैन। संसारले मलाई धनभन्दा ठूलो उपहार दिएको छ—अनुभव। यात्राभन्दा ठूलो विद्यालय कुनै रहेनछ, र घर फर्किनुभन्दा सुन्दर गन्तव्य पनि कुनै रहेनछ।'
जब म आफ्नो गाउँ फर्कन्छु, मलाई जीवनले सिकाएका साँचो ज्ञान र अनुभवका कुराहरू मेरा गाउँलेहरूलाई सुनाउन मन लाग्छ। मैले संसारका धेरै देशहरू देखेको छु। अनेक संस्कृतिहरू बुझेको छु। युद्धदेखि शान्तिसम्म, गरिबीदेखि सम्पन्नतासम्मका धेरै पक्षहरू नियालेको छु। मलाई लाग्छ, यी अनुभवहरूबाट मैले केही साँचो बुद्धि र जीवनका पाठहरू सिकेको छु।
तर म यो पनि जान्दछु र निश्चित छु कि गाउँका धेरै मानिसहरूले मेरो कुरा खासै ध्यान दिएर सुन्ने छैनन्। उनीहरू एक पूर्वसैनिकले बिताएका युद्धका जीवनकथा वा पूर्वलाहुरेको व्यथाभन्दा स्थानीय नेताहरूका राजनीतिक भाषण सुन्न बढी रुचाउँछन्। किनभने राजनीतिका वाचा, आरोप र प्रत्यारोपका कुरा उनीहरूलाई बढी आकर्षक लाग्छन्।
सायद जीवनको यही विडम्बना हो। संसार देखेर फर्किएको एक जना थोत्रे देशीको अनुभवभन्दा कहिलेकाहीँ राजनीतिक नाराले बढी स्थान पाउँछ। तैपनि, म निराश हुन्नँ। किनभने साँचो ज्ञान भीडले ताली बजाउँदैमा मूल्यवान् हुने होइन। सत्य र अनुभवको मूल्य समयले एक दिन अवश्य चिनाउँछ।
आज म अक्सफोर्डसायरको एउटा गाउँमा बसेर सोचिरहन्छु। मैले देखेको संसार र सिकेको ज्ञान सुनाउन धेरै श्रोता नभए पनि त्यसले मेरा अनुभवहरूको महत्त्व घटाउँदैन। आखिर बुद्धि भनेको अरूलाई प्रभाव पार्नका लागि मात्र होइन, जीवनलाई सही ढङ्गले बुझ्नका लागि हो।
अक्सफोर्ड, बेलायत।
.gif)

.png)




