आईजीपी प्रकरण : रवि–बालेन सत्ता संघर्षको नयाँ अध्याय

प्रहरी नेतृत्वको लडाइँ कि प्रधानमन्त्रीको कुर्सीको संघर्ष ?


२०८३ कार्तिक १९ बिहीबार ००:०८ बजे

आईजीपीलाई बर्खास्त गर्न सकिएला, तर घटुवा र सरुवा गर्ने विषयमा नेपालको संविधान, २०७२ को कुनै धारा–उपधारा छैन। हामीले बुझ्नैपर्ने अर्को कुरा के पनि हो भने, जेनजी आन्दोलनका बेला दानबहादुर कार्की काठमाडौं उपत्यका प्रहरी प्रमुख थिए। आशमा होस् अथवा त्रासमा, उनले वर्तमान सरकारलाई राम्रै गुन लगाएका थिए भन्ने देखिन्छ। अर्थात्, मुलुक जल्दै गर्दा आफ्नै सेटिङमार्फत मातहतको संगठनलाई ह्यान्डसप गराएर।

यस अर्थमा देश जलाउन को–को संलग्न थिए र त्यसको कारण के थियो भन्ने प्रश्न उठ्दा दानबहादुर कार्की पनि एउटा प्रमाण हुन सक्छन्। हामीले सुनेको कुरा त के पनि हो भने, दानबहादुरले ‘अब रवि लामिछाने प्रधानमन्त्री र म आईजीपी हुँ’ भनेका थिए रे!

निर्वाचनपछि पनि बालेनलाई हटाएर रविलाई प्रधानमन्त्री बनाउने अभियानमा कसैले थाहा नपाउने गरी ओपन सेक्रेट रूपमा रवि, दानबहादुर कार्की र अमरेश सिंहहरूबीच गठबन्धनजस्तो देखिन्थ्यो। यो अभियानमा अरू शक्तिहरू पनि लागेको जस्तो हामीलाई भान भइरहेकै थियो।

रास्वपाका उपनेता गणेशजीको अन्तर्वार्ता पनि मैले कान्तिपुरमा सुनेँ। दानबहादुरजीलाई अदालत जाने बाटो खुला छ भनेर उनले सफ्टली दानबहादुरजीलाई समर्थन गरेको देखियो। यता पार्टीका प्रवक्ता खरेलजीले आईजीपी हटाउने विषय पार्टीलाई थाहै नभएको कुरा स्पष्ट पार्नुभयो।

खगेन्द्र सुनारलाई बलिवेदीमा चढाएर बालेनजी अहिलेका आईजीपीलाई हटाउन चाहिरहेकै थिए! खगेन्द्र सुनार पनि के. बिक नाम गरेका एआईजीलाई आईजीपी बनाउन सकिन्छ कि भनेर यो खेतीपातीमा लागेको जस्तो लाग्छ। तर, यो कुरा अन्ततः आलु खायो!

यी सबै झ्वाँकमा बालेन टिमका निकटस्थ इनामहरूको अडियो पनि दानबहादुरले बाहिर ल्याइदिए। यो कुरा त झन् बालेन र उनको समूहका लागि सहज हुने विषय भएन।

ढुक्कसँग भन्न सकिन्छ, मूलतः आईजीपी प्रकरण र अहिलेको यो टसल रवि समूह र बालेन समूहबीचको टसल हो।

हिजो यस्तै घटनाले एमाले विभाजनको तहसम्म पुगेको थियो। रुक्माङ्गद कटुवाल प्रकरणले माओवादीको ओरालो यात्रा सुरु भएको थियो। अब यी तथ्यहरूको विश्लेषण गर्दा रास्वपाको विभाजन अथवा ओरालो यात्रा निश्चित देखिन्छ।

सुरक्षा निकायलाई गिजोल्ने कामले मुलुकको हित गर्दैन, यो कुरा सबैले बुझे हुन्छ। हुन त अदालतलाई पनि बालेन सत्ताले आफ्नै इनाम सापकोटा नामक बुख्याँचामार्फत तर्साएको छ। यदि अदालत सत्ताको धम्कीबाट तर्सिएन भने कानुनतः दानबहादुरको पुनर्बहाली निश्चित छ।

इनाम सापकोटा कुमार बेनले बनाएको बिचौलिया हो भन्ने हल्ला बजारमा गुवाइँगुइँ सुनेकै छौँ। सत्य उनै जानून्। तर, बालेनले चारैतिर (कर्मचारी, प्रहरी, अदालत, पत्रकार र पार्टीहरू) चलाएर देशलाई अस्थिरताको भुमरीमा फसाउँदै र आफैँ पनि फस्दै गएको देखिन्छ।

पार्टीको डन्डा देखाएर आफूलाई हटाउन खोजिएको महसुस भएमा रविलाई बालेनले जेल पठाउने सम्भावना पनि जीवित रहेको जानकारहरू बताउँछन्। बालेनका सबै बाटा बन्द भए भने अन्ततः संसद् विघटन निश्चित छ। अस्थिरता आफ्ना बफादार प्यादाहरूमार्फत मच्चाइरहने भए ! हिजो होस् अथवा आज, प्रभुहरूले पनि के–के गर्छन् र सिकाउँछन् हो आफ्ना प्यादाहरूलाई !

(नेकपा (एमाले)का नेता रमेश पौडेलेको फेसबुकबाट) 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७