रोजनका हत्या आरोपी पुगे बहराइन र कुवेत, १६ वर्षपछि पक्राउ


२०७८ फाल्गुण २५ बुधबार १८:०० बजे

पोखरा । धरानका २० वर्षीय रोजन राईको हत्या आरोपमा पोखराका अशोक गुरूङ पक्राउ परेका छन् । १६ वर्षअघि पोखरामा मजदुरी गर्दै आएका राईको हत्या आरोपमा पोखरा-३२ सातमुहानेका ४६ वर्षीय गुरूङ पक्राउ परेका हुन् । उनलाई प्रहरीले बहराइनबाट पक्राउ गरेर नेपाल ल्याएको हो । उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीको अनुमति लिएको जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी रमेश थापाले जानकारी दिए । गुरुङ हत्याको घटनापछि कुवेत र बहराइन पुगेका थिए ।

प्रहरीका अनुसार २०६३ बैशाख २९ गते बेलुकी अशोक र रोजनबीच झगडा भएको थियो । सोही क्रममा अशोकले चिर्पटले रोजनको टाउकोमा प्रहार गरेर गम्भीर घाइते बनाएका थिए । गम्भीर घाइते रोजनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा २०६३ जेठ २ गते मृत्यु भएको थियो ।

घटनापश्चात अशोक वैदेशिक रोजगारीको शिलसिलामा बहराइन पुगेका थिए । इन्टरपोलको नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) नेपालमार्फत् बहराइन प्रहरी समक्ष गरेको अनुरोधको आधारमा त्यहाँको प्रहरीले गुरुङलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा २०७८ मंसिर २७ गते ईन्टरपोल महासचिवालयबाट ‘रेड नोटिस’ जारी गरिएकोमा उनी बहराईनमा पक्राउ परेको बताइएको छ ।

उनलाई प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिएको प्रहरीले मंगलबार नेपाल ल्याएको थियो । थप अनुसन्धान तथा आवश्यक कानुनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाएको छ । कास्की प्रहरीले बुधबार उनलाई सार्वजनिक गरेर कार्वाही प्रक्रिया अघि बढाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७