फ्लोरिडामा बस्तीमाथि व्यावसायिक जेट खस्यो : विमानमा सवार सबैको मृत्यु
काठमाडौं : अमेरिकाको फ्लोरिडामा व्यावसायिक जेट विमान आवासीय क्षेत्रमा खस्दा विमानमा सवार नौ जनाको मृत्यु भएको छ । आइतबार भएको दुर्घटनामा विमानमा रहेका सबैको ज्यान गएको बीबीसीले जनाएको छ ।
अमेरिकी यातायात सचिव सिन डफीका अनुसार ‘लेयरजेट ६०’ विमान फ्लोरिडाको क्रेस्टहेभन बस्ती नजिक दुर्घटनामा परेको हो । स्थानीय समयअनुसार दिउँसो करिब १२ः५० बजे भएको दुर्घटनास्थल राष्ट्रपति डोनाल्ड ट्रम्पको मार–ए–लागो रिसोर्टबाट करिब १४ किलोमिटर टाढा रहेको छ ।
अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)का अनुसार विमान टेक्सासको अस्टिनबाट उडेर बहामासतर्फ जाँदै थियो । दुर्घटनापछि सार्वजनिक भएका तस्बिरमा आवासीय सडकमा ठूलो खाल्डो परेको र विमानका टुक्रा, कङ्क्रिट तथा अन्य भग्नावशेष छरिएको देखिन्छ । दुर्घटनास्थलमा आगलागीसमेत भएको थियो ।
अमेरिकी सञ्चारमाध्यमका रिपोर्ट तथा उडानसम्बन्धी विश्लेषणअनुसार विमान दुर्घटनाअघि तीव्र गतिमा तल झरिरहेको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएको अपुष्ट भिडियोमा विमान आवासीय सडकमा लगभग ठाडो रूपमा खस्दै ठूलो आगोको मुस्लोसहित विस्फोट भएको देखिन्छ ।
फ्लोरिडाका गभर्नर रन डिसान्टिसले पत्रकार सम्मेलनमा भिडियो हेर्दा दुर्घटना निकै भयावह देखिएको बताए । उनका अनुसार विमान मिसाइल खसेजस्तै जमिनमा आएको र विस्फोटपछि भग्नावशेष चारैतिर छरिएको थियो ।
दुर्घटनाका बेला विमानमा को–को सवार थिए भन्ने खुलिसकेको छैन । गभर्नर डिसान्टिसले जमिनमा रहेका व्यक्तिको मृत्यु वा घाइते भएको सूचना प्राप्त नभएको बताएका छन् ।
यातायात सचिव डफीले घटनालाई भयावह दुर्घटना भन्दै अनुसन्धानमा सहयोग गर्न एफएएले राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी)सँग समन्वय गर्ने र टोली घटनास्थलमा पठाउने जानकारी दिएका छन् । उनले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
पाम बिच काउन्टी फायर रेस्क्युले घटनालाई ‘मास क्याजुअल्टी इन्सिडेन्ट’ घोषणा गरेको छ । पाम बिच काउन्टी शेरिफ कार्यालयका अनुसार दुर्घटना मिलिटरी ट्रेल नामक छ लेनको सडकमा भएको हो । सडक आसपास विभिन्न व्यवसाय तथा रेस्टुरेन्ट छन् ।
दुर्घटनापछि नजिकैको ट्रेलर पार्कमा बसोबास गर्ने करिब ६०० स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । विमान खस्दा स्थानीय पूर्वाधारमा समेत क्षति पुगेको छ ।
पानीका पाइपलाइनमा क्षति पुगेकाले सडक पुनः सञ्चालन हुन कम्तीमा ३० दिन लाग्न सक्ने अधिकारीहरूले बताएका छन् । दुर्घटनाका बेला क्षेत्रमा मेघगर्जनसहित वर्षा भइरहेको थियो ।
.gif)

.png)




