एनपीएलमा आज दुई खेल : काठमाडौं पहिलो जित र कर्णाली तेस्रो जितको खोजीमा
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत सोमबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ ।
दिउँसो १२ः३० बजे सुरु हुने खेलमा काठमाडौं गोर्खाज आफ्नो पहिलो जितको खोजीमा हुनेछ । दोस्रो खेल खेल्न लागेको काठमाडौं पहिलो खेलमा पराजित भएको थियो । टोलीको कप्तानी करण केसीले गर्नेछन् ।
अर्कोतर्फ दुई खेलमा जित निकाल्दै चार अंक जोडेको कर्णाली याक्स तेस्रो जितको लक्ष्यसहित मैदानमा उत्रनेछ । कर्णालीको नेतृत्व सोमपाल कामीले गर्नेछन् ।
काठमाडौं गोर्खाजमा अस्ट्रेलियाका पूर्वकप्तान तथा आक्रामक ब्याटर डेभिड वार्नर र भारतीय विकेटकिपर ब्याटर केएस भरत मुख्य आकर्षणका रूपमा छन् । कर्णालीबाट सोमपाल कामी, मार्क वाट, अकबर अली र गुलशन झाले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
यस्तै, आजै साँझ ५ बजे हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्नेछन् ।
तीन खेल खेलेको सुदूरपश्चिमले एक खेलमा मात्रै जित निकालेको छ भने दुई खेलमा पराजित भएको छ । चौथो खेलमा सुदूरपश्चिम जित निकाल्ने लक्ष्यमा हुनेछ ।
दुई खेल खेलेको चितवन भने अहिलेसम्म अपराजित छ । एक खेलमा जित निकालेको चितवनले अर्को खेलमा वर्षाका कारण अंक बाँडेको थियो ।
एनपीएलको तेस्रो संस्करणमा आठ टोली सहभागी छन् । लिग चरणमा प्रत्येक टोलीले सात खेल खेल्नेछन् । लिग चरणपछि अंकतालिकाका शीर्ष चार टोलीले प्लेअफमा स्थान बनाउनेछन् ।
.gif)

.png)




