ब्राउन सुगरसहित दुई जना पक्राउ गर्न प्रहरीले गर्‍यो दुई राउन्ड हवाई फायर


२०८३ कार्तिक १६ सोमबार ०८:०९ बजे
फाइल फोटो

कपिलवस्तु : कपिलवस्तुमा ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ ।

लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा छापा मार्न पुगेको प्रहरी टोलीलाई देखेपछि भाग्न खोजेका उनीहरूलाई हवाई फायर गरी नियन्त्रणमा लिइएको हो ।

वाणगंगा नगरपालिका–३ राजापानीस्थित राधाकृष्ण नास्ता पसलमा प्रहरीले छापा मारेको थियो । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–११ का २६ वर्षीय सलाउदिन मुसलमान र वाणगंगा नगरपालिका–६ का २९ वर्षीय उमेश थारु रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक मनोहर भट्टले उनीहरू पक्राउ परेको जानकारी दिए ।

लागूऔषध कारोबार भइरहेको गोप्य सूचनापछि इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक कालिका कार्कीको कमान्डमा सात सदस्यीय टोली र लागूऔषध नियन्त्रण ब्युरो भैरहवाबाट प्रहरी नायब निरीक्षक सागर भट्टराईको नेतृत्वमा खटिएको टोलीले संयुक्त रूपमा छापा मारेको थियो ।

खानतलासीका क्रममा दुवै जना भाग्न खोजेपछि प्रहरी नायब निरीक्षक भट्टराईले आफूसँग रहेको ब्यारेटा पेस्तोलबाट दुई राउन्ड हवाई फायर गरेका थिए ।

त्यसपछि उनीहरूलाई नियन्त्रणमा लिएर खानतलासी गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पसलमा कालो प्लास्टिकभित्र लुकाएर राखिएको २४ ग्राम १८० मिलिग्राम र उनीहरूले प्रयोग गरेको भारतीय नम्बर प्लेटको यूपी ५५ एभी २६५९ नम्बरको मोटरसाइकलको सिटमुनि लुकाइएको चार ग्राम ६४० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ ।

दुवै स्थानबाट बरामद ब्राउन सुगरको शुद्ध तौल २८ ग्राम ८२० मिलिग्राम रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७