कांग्रेसको चुनाव चिह्नबाट जितेर अर्को दलमा गए कारबाही हुन्छ : गगन थापा


२०८३ मङ्सिर ८ मंगलबार १६:१८ बजे
तस्बिर : नेपाल फोटो सर्भिस (NPS)

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको विधानविपरीत गतिविधि गर्ने र अर्को दलमा आबद्ध हुने नेता–कार्यकर्तामाथि कारबाही गर्ने चेतावनी दिएका छन् ।

मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले त्यस्तो बताएका हुन् । बैठकमा थापाले पार्टीभित्रको विवाद र देउवा समूहका गतिविधिप्रति पनि कडा धारणा राखे ।

उनले एउटै पार्टीका दुईवटा महाधिवेशन हुन नसक्ने भन्दै छुट्टै गतिविधि सञ्चालन गर्नेलाई पार्टीको विधान सम्झाएका थिए । कांग्रेसको चुनाव चिह्न लिएर निर्वाचित भएका जनप्रतिनिधि अर्को पार्टीमा आबद्ध भए विधानअनुसार कारबाही हुने उनले चेतावनी दिए ।

राष्ट्रिय सभा तथा स्थानीय तहमा रहेका केही जनप्रतिनिधिको गतिविधिप्रति संकेत गर्दै थापाले पार्टी सदस्य भएर अर्को दलको चुनावमा सहभागी हुनेलाई कारबाही गर्नु आफ्नो जिम्मेवारी भएको बताए ।

‘कुनै पनि व्यक्ति कांग्रेसको चुनाव चिह्न लिएर चुनाव लडेको छ र अर्को पार्टीमा लाग्छ भने पार्टीले कारबाही गर्छ,’ उनले भने ।

उनले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक विवादमा कांग्रेसले हस्तक्षेप नगर्ने स्पष्ट पारे । रास्वपाभित्रका कुनै पनि विवादमा कांग्रेसको चासो नरहेको बताए। यो विषय पार्टीको महाधिवेशनसम्बन्धी दस्तावेजमै स्पष्ट पारिएको उनको भनाइ थियो।

‘हामी राष्ट्रिय स्वतन्त्र पार्टीभित्रका कुनै पनि खालका समस्याभित्र पस्दा पनि पस्दैनौँ, हामीलाई रुचि पनि छैन। हामी कुनै कचकच गर्दैनौँ, कुनै उपद्रोमा सहभागी पनि हुँदैनौँ,’ उनले भने।

थापाले सरकार सञ्चालनमा सत्तापक्षको जस्तै प्रतिपक्षको पनि जिम्मेवारी हुने उल्लेख गरे । कांग्रेस प्रमुख प्रतिपक्षी दलको भूमिकामा स्पष्ट रहेको भन्दै उनले आवश्यकताअनुसार सरकारसँग सहकार्य गर्ने, खबरदारी गर्ने, प्रश्न उठाउने र प्रतिरोधसमेत गर्ने बताए ।

प्रतिपक्षमा रहेका दलहरूबीच गठबन्धन बनाउने पक्षमा पनि कांग्रेस नरहेको उनले स्पष्ट पारे । तर, साझा मुद्दामा अन्य प्रतिपक्षी दलसँग संवाद र सहकार्य गर्न भने तयार रहेको उनको भनाइ थियो ।

पार्टीभित्र असन्तुष्ट रहेका नेता–कार्यकर्तालाई समेट्ने प्रयास जारी राखेको उल्लेख गर्दै थापाले त्यसको पनि सीमा हुने बताए ।

आफूले सबै पक्षका कुरा सुन्दै सहमतिको प्रयास गरेको तर कांग्रेस छाडेर अर्को पार्टीको सदस्यता लिने गतिविधिलाई विधानअनुसार सम्बोधन गरिने उनको भनाइ थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७