किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ ९ बैंकिङ कसुर र एक ठगी मुद्दामा फरार


२०८३ भदौ ३० मंगलबार ०७:३६ बजे

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहसँग बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँगको छलफलमा सहभागी भएर सिंहदरबारबाट बाहिरिँदै गर्दा पक्राउ परेका नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङविरुद्ध १० वटा मुद्दा रहेको खुलेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार आयोजित छलफलमा सहभागी तामाङविरुद्ध पक्राउ पुर्जी रहेको खुलेपछि प्रहरी वृत्त दरबारमार्गको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार प्रहरी अभिलेख जाँच गर्दा तामाङविरुद्ध ९ वटा बैंकिङ कसुर र एउटा ठगीसम्बन्धी मुद्दा रहेको तथा उनी ती मुद्दामा फरार प्रतिवादी रहेको खुलेको हो।
प्रहरीका अनुसार सुनमाया घर्तीले तामाङविरुद्ध ३ करोड ४ लाख रुपैयाँ बिगो दाबी गर्दै जाहेरी दिएकी थिइन्। उक्त मुद्दाको अनुसन्धान पूरा गरी प्रहरीले २०८२ फागुन ५ गते जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। त्यस्तै, हेराकाजी बाडेले १ करोड ३ लाख ३० हजार रुपैयाँ बिगो कायम गरी दिएको जाहेरीमा अनुसन्धान सकेर २०८२ मंसिर १७ गते सरकारी वकिलको कार्यालयमा मिसिल बुझाइएको थियो।
एकबहादुर बगालेले ४८ लाख रुपैयाँ बराबरको बैंकिङ कसुर गरेको आरोपमा दिएको जाहेरीको अनुसन्धान प्रतिवेदन २०८० पुस ८ गते सरकारी वकिलको कार्यालयमा पेस भएको प्रहरी अभिलेखमा उल्लेख छ। विजयसिंह लामाले ९५ लाख रुपैयाँ बराबरको बैंकिङ कसुर गरेको भन्दै दिएको जाहेरीको अनुसन्धान प्रतिवेदन २०८० मंसिर ९ गते सरकारी वकिलको कार्यालयमा बुझाइएको थियो।
त्यसैगरी, ५६ लाख रुपैयाँ बिगोको ठगी मुद्दामा पनि अनुसन्धान पूरा गरी २०८१ भदौ ११ गते सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेस गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार भक्तपुरमा २ लाख रुपैयाँ, प्रहरी वृत्त जनसेवामा ७५ लाख रुपैयाँ, दरबारमार्गमा ५ लाख २५ हजार रुपैयाँ र लैनचौरमा १९ लाख ८० हजार रुपैयाँ बिगो भएका मुद्दामा पनि तामाङ फरार रहेको देखिएको छ।
महाराजगन्जमा समेत उनीविरुद्ध मुद्दा रहेको भए पनि जेनजी आन्दोलनका क्रममा सम्बन्धित मिसिल जलेकाले त्यसको विस्तृत विवरण तत्काल फेला नपरेको प्रहरीले जनाएको छ। तामाङलाई अब सम्बन्धित मुद्दाको प्रकृति र कानुनी प्रक्रियाअनुसार अनुसन्धान तथा कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७