विमानस्थलमा खादामाला लिएर नेताको स्वागत गर्न नआउनू : गगन थापा


२०८३ कार्तिक ११ मंगलबार १३:४५ बजे
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले नेता आउँदा विमानस्थलमा खादामाला लिएर स्वागत गर्न जाने परम्परा अन्त्य गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। 

उनले कांग्रेसको कार्यशैली र सोच बदल्नुपर्नेमा जोड दिँदै नेताहरूलाई आम नागरिकबाट अलग राख्ने प्रवृत्ति त्याग्नुपर्ने बताएका छन्।

पोखरामा बिपी स्मृति पुस्तकालयले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति थापाले नेताको स्वागतमा विमानस्थलमा भीड लगाउने र सडकमा गाडीको ताँती लगाउने प्रवृत्तिले आम नागरिकलाई दिक्क बनाउने बताए।

‘हामीले निर्देशिका नै बनाएर पठाएका छौँ। नेता आउँदा लाइन लगाएर खादामाला लिएर विमानस्थलमा स्वागत गर्न आउने होइन,’ उनले भने, ‘नेतालाई स्वागत गर्न आउनेको भीड देख्दा पनि मानिसहरूलाई दिक्क लाग्छ होला नि!’

सोमबार पोखरा विमानस्थलमा आफू पुग्दा नेता तथा कार्यकर्ता स्वागतका लागि उपस्थित भएको प्रसङ्ग उल्लेख गर्दै थापाले स्याङ्जा जाँदाको एउटा घटनासमेत सुनाए। उनका अनुसार बाटोमा बसेका एक वृद्धले कांग्रेस सभापति आएको भन्दै गाडी गनिरहेका थिए।

‘एक जना वृद्ध बाटोमा बसेर गाडी गन्दै हुनुहुन्थ्यो—२१, २२, २३ भनेर। गनेको के भन्दा गाडी। गाडीका ताँती,’ थापाले भने।

यस्ता कुरा सामान्य देखिए पनि पार्टीको व्यवहार परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो। आफूहरू पनि आमनागरिक नै भएको उल्लेख गर्दै उनले नेताहरूले सर्वसाधारणसँग सहज रूपमा भेटघाट र संवाद गर्न पाउने वातावरण बनाउनुपर्ने बताए।

‘हामी आमनागरिक हौँ। आमनागरिकको कुरा हामीले सुन्न पाउनुपर्छ। बाटोमा पनि मानिसहरूसँग कुरा गर्दै हिँड्न पाइयोस् नि! सभापति भनेको छ, अलगै राखेको छ, भेट्न आएका साथीहरूलाई धकेलेको छ। यो सब कुरा बदल्नुपर्छ,’ उनले भने।

सभापति थापाले पार्टीलाई जनतासँग पुनः जोड्न मङ्सिर महिनाभर विशेष अभियान सञ्चालन गर्ने प्रस्तावसमेत अघि सारेका छन्।

विगतमा कांग्रेसलाई मतदान गर्दै आएका तर पछिल्लो समय अन्य दललाई रोजेका मतदातासँग संवाद गरेर उनीहरूलाई पुनः पार्टीमा जोड्नुपर्ने उनको भनाइ छ।

त्यसका लागि केन्द्रीय सदस्यहरूलाई जिम्मेवारीसहित गाउँगाउँमा पठाउने उनले बताए। अब केन्द्रीय नेताहरू काठमाडौंमा मात्र केन्द्रित नभई जनतामाझ पुग्नुपर्ने उनको धारणा छ।

‘एक जना पनि केन्द्रीय सदस्य साथीलाई काठमाडौं बस्ने अवस्था आउन दिन्नँ, सबैलाई तल पठाउने हो, गाउँगाउँमा,’ थापाले भने।

उनले निर्वाचनका उम्मेदवार केन्द्रबाटै छनोट गर्ने परिपाटीसमेत बदल्ने बताएका छन्।

जुन तहको निर्वाचन हो, त्यही तहका पार्टीका प्रतिनिधिले उम्मेदवार तय गर्नुपर्ने भन्दै उनले उम्मेदवार बन्न चाहने नेता पनि केन्द्रमा बसेर नभई स्थानीय तहमा पुगेर काम गर्नुपर्ने बताए।

यसैगरी, थापाले कांग्रेसको १५औँ महाधिवेशनमा पराजित भएका तथा महाधिवेशन प्रक्रियाबाट बाहिर रहेका सबैलाई समेटेर पार्टीलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

पार्टीभित्रको एकता बलियो बनाउँदै जनतासँगको सम्बन्ध सुधार्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७