गङ्गापूर्ण हिमालमा बेपत्ता दुई जापानी आरोही मृत फेला
मनाङ : गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका दुई जापानी पर्वतारोही मृत फेला परेका छन्।
मनाङको ङिस्याङ गाउँपालिका–६ स्थित सात हजार ४५५ मिटर अग्लो गङ्गापूर्ण हिमालको दक्षिणी भागमा शुक्रबार उनीहरूको शव फेला परेको हो।
मृत फेला पर्नेमा जापानी नागरिक हिदेसुके तानेइशी र तेत्सु हाशिमोतो रहेका छन्। उनीहरू काठमाडौँस्थित कस्मो एडभेन्चर कम्पनीमार्फत नेपाली पथप्रदर्शकसहित हिमाल आरोहणमा गएका थिए।
असोज २९ गतेदेखि सम्पर्कविहीन भएपछि उनीहरूको खोजी सुरु गरिएको थियो।
करिब सात हजार ५० मिटरको उचाइमा पुगेपछि उनीहरूसँग सम्पर्क विच्छेद भएको मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिए।
त्यसपछि खोजीका लागि हेलिकप्टर र उद्धार टोली परिचालन गरिएको थियो। खोजीका क्रममा उनीहरूले प्रयोग गरेका झोला तथा आरोहण सामग्री यसअघि नै फेला परेका थिए।
लगातारको खोजीपछि शुक्रबार हिमालको दक्षिणी भागमा करिब छ हजार ३०० मिटरको उचाइमा दुवैको शव फेला परेको प्रमुख जिल्ला अधिकारी खनालले जानकारी दिए।
फेला परेका शव काठमाडौँ पठाउने तयारी भइरहेको छ। शव परीक्षणपछि नेपालस्थित जापानी राजदूतावाससँग समन्वय गरी परिवारलाई जिम्मा लगाइने उनले बताए।
गङ्गापूर्ण हिमाल आरोहणमा गएका दुवै जापानी पर्वतारोही अक्टोबर १५ अर्थात् असोज २९ गतेदेखि सम्पर्कविहीन भएका थिए। लामो खोजीपछि उनीहरूको शव भेटिएको हो।
.gif)

.png)



