दसैंपछि उपत्यका फर्किनेको लर्को, मुख्य नाकामा ट्राफिक प्रहरीको निगरानी
काठमाडौं : दसैं मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू फर्किन थालेसँगै उपत्यका भित्रिने प्रमुख नाकामा सवारीसाधनको चाप बढ्न थालेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा–कलङ्की, जडीबुटी–कोटेश्वर, भक्तपुरको जगाती तथा दक्षिणकाली–फर्पिङलगायत सडकखण्डमा सवारीसाधनको चाप बढेको छ।
दसैं मनाउन घर गएका यात्रु र सवारीसाधन फर्किने क्रम बढेसँगै उपत्यका प्रवेश गर्ने सडकमा आवागमन बाक्लिन थालेको हो।
यात्रुको चाप बढेपछि ट्राफिक प्रहरीले सवारी आवागमन सहज बनाउने, जाम व्यवस्थापन गर्ने र सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रमुख नाकामा निगरानी बढाएको जनाएको छ।
कार्यालयका अनुसार उपत्यकाका प्रमुख नाकाबाट दैनिक निजी कार, जिप, मोटरसाइकल तथा साना–ठूला सार्वजनिक सवारीसाधन गरी करिब एक हजारको हाराहारीमा सवारीसाधन आवतजावत गर्ने गरेका छन्।
यस वर्ष दसैं मनाउन घटस्थापनादेखि कात्तिक ३ गतेसम्म पाँच लाख ७६ हजारभन्दा बढी यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका थिए। दसैं सकिएसँगै उनीहरू फर्किन थालेपछि उपत्यकाका प्रवेश नाकामा सवारी चाप क्रमशः बढ्न थालेको हो।
.gif)

.png)



