नेकपाको दुईमहिने राष्ट्रिय जागरण अभियान आजदेखि


२०८३ कार्तिक ८ शनिबार १०:०८ बजे
फाइल फोटो

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दुईमहिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु गर्दैछ। 

पार्टीले दिउँसो २ः३० बजे काठमाडौंको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी अभियान उद्घाटन गर्न लागेको हो।

पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार अभियान उद्घाटन कार्यक्रममा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ।

असोज २३ गते बसेको पार्टीको केन्द्रीय संयोजन समिति बैठकले कात्तिक ७ देखि मङ्सिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। 

राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, जनअधिकार, जनजीविका र पार्टी सङ्गठन सुदृढीकरणलाई अभियानको मुख्य उद्देश्य बनाइएको छ।

अभियानका क्रममा पार्टीका विभिन्न समिति तथा जनवर्गीय र मोर्चा सङ्गठनको समायोजनका बाँकी काम पूरा गर्ने, सङ्गठित सदस्यता नवीकरण तथा विस्तारलाई तीव्रता दिने र पार्टीका बैठक, भेला तथा प्रशिक्षण सञ्चालन गरिनेछ।

त्यस्तै, जनतासँगको सम्बन्ध बलियो बनाउन जनकेन्द्रित तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने, जनताका माग र दैनिक जनजीविकासँग जोडिएका समस्या सङ्कलन गरी सम्बन्धित निकायमा पेस गर्ने योजना छ। 

श्रम तथा जनसेवाका कार्यक्रम पनि अभियानमा समेटिएका छन्।

नेकपाले अभियानका क्रममा महँगी, भ्रष्टाचार, कालोबजारी, बेरोजगारी, असुरक्षा तथा जनताले भोगिरहेका अन्य समस्याबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

यी समस्याबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराउन केन्द्रमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री तथा जिल्लामा प्रमुख जिल्ला अधिकारी वा सम्बन्धित निकायसमक्ष मागपत्र र ज्ञापनपत्र पेस गरिनेछ।

यसैगरी, विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका काममा सहयोग गर्ने कार्यक्रम पनि अभियानमा समावेश गरिएको छ।

पार्टीले आगामी स्थानीय तह निर्वाचनअघि वडा र पालिका अधिवेशन गर्ने निर्णयसमेत गरेको छ। 

दुईमहिने अभियानलाई राजनीतिक गतिविधि विस्तार, सदस्यता नवीकरण र सङ्गठनात्मक एकीकरणका बाँकी काम पूरा गर्ने अवसरका रूपमा अघि बढाउन खोजिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७