स्वर्णिम वाग्लेको भारतसम्बन्धी अभिव्यक्तिमा गोकुल बास्कोटाको आपत्ति


२०८३ कार्तिक ८ शनिबार ०९:४५ बजे

काठमाडौं : नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली राष्ट्रवाद र नेपाल–भारत सम्बन्धबारे दिएको अभिव्यक्तिको आलोचना गरेका छन्।

भारत भ्रमणका क्रममा नयाँदिल्लीमा आयोजित एक कार्यक्रममा वाग्लेले नेपाली राष्ट्रवादलाई भारतविरोधसँग जोडेर बुझ्ने पुरानो सोचको समय सकिएको बताएका थिए।

उनको यही अभिव्यक्तिलाई लिएर बास्कोटाले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका हुन्।

फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै बास्कोटाले वाग्लेको अभिव्यक्तिलाई ‘बौद्धिक ज्ञानको टाट पल्टाई’ को संज्ञा दिएका छन्।

‘अर्थमन्त्री वाग्ले जब भारत पुग्छन् तब नेपाल राष्ट्रविरुद्ध छाद्छन्। नेपाली राष्ट्रवाद भनेको भारतको विरोध हो– त्यो अब रहेन भन्ने भाष्य नै राष्ट्रवाद र राष्ट्रिय हित सम्बन्धी राजनीतिक, कूटनीतिक, ऐतिहासिक रूपमा आफ्नै बौद्धिक ज्ञानको टाट पल्टाई हो,’ बास्कोटाले लेखेका छन्।

यसअघि भारतको नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा बोल्दै अर्थमन्त्री वाग्लेले विगतमा नेपालमा भारतको विरोध गर्नुलाई राष्ट्रवादका रूपमा प्रस्तुत गर्ने भाष्य रहेको बताएका थिए।

नयाँ पुस्ताको प्राथमिकता आर्थिक समृद्धि, रोजगारी, सुशासन र छिमेकीसँगको राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै उनले नेपाली राष्ट्रवादलाई भारतविरोधसँग जोडेर हेर्ने युग समाप्त भएको धारणा राखेका थिए।

वाग्लेले नेपाल र भारतबीच आर्थिक सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिँदै भारतीय लगानी वृद्धि र नेपाली उत्पादनका लागि भारतीय बजारमा सहज पहुँच आवश्यक रहेको बताएका थिए।

उनको यही अभिव्यक्तिलाई लिएर बास्कोटाले आलोचना गरेका हुन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७