दसैंमा मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा


२०८३ कार्तिक ७ शुक्रबार २१:३५ बजे

काठमाडौं : दसैंका अवसरमा काठमाडौं उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरेर सवारीसाधन चलाउने ९८२ जना चालक कारबाहीमा परेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले घटस्थापनादेखि कात्तिक ६ गतेसम्मको १३ दिनमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ९४७ जना र लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ३५ जना चालकलाई कारबाही गरिएको जानकारी दिएको छ।

मापसे गरी सवारी चलाएको आरोपमा कारबाहीमा परेका ९४७ जनामध्ये ५९ जना सार्वजनिक सवारीका चालक रहेको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। यस्तै, लापसे गरी सवारी चलाउने ३५ जना नै सार्वजनिक सवारीका चालक रहेको उनले जानकारी दिए।

मादक पदार्थ तथा लागू पदार्थ सेवन गरेर सवारी चलाउनु गैरकानुनी भएकाले संलग्न चालकलाई ट्राफिक ऐनअनुसार कारबाही गरिएको सुवेदीले बताए।

चाडपर्वका समयमा सवारीसाधनको आवागमन बढ्ने र मादक पदार्थ वा लागू पदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटनाको जोखिमसमेत बढ्ने भएकाले ट्राफिक प्रहरीले निगरानी र कारबाहीलाई निरन्तरता दिएको जनाएको छ।

ट्राफिक प्रहरीले चालकलाई मादक तथा लागू पदार्थ सेवन गरेर सवारी नचलाउन आग्रह गर्दै सुरक्षित यात्रा सुनिश्चित गर्न नियमको पालना गर्नसमेत अनुरोध गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७