‘दशैँ तिहार चेलीलाई उपहार’ अभियानबाट खोटाङमा ६४२ जनाले पाए सेवा


२०८३ कार्तिक ६ शुक्रबार २०:५२ बजे

काठमाडौँ । ‘दशैँ तिहार चेलीलाई उपहार–२०८३’ तेस्रो संस्करणअन्तर्गत सञ्चालित प्रथम चरणको दशैँ विशेष अभियान सफलतापूर्वक सम्पन्न भएको छ। चार दिनसम्म सञ्चालन भएको अभियानबाट कुल ६४२ जना सेवाग्राही लाभान्वित भएका छन्।

अभियानका संयोजक सन्जय कुमार राईका अनुसार २०८३ साल कात्तिक ३ गतेदेखि ६ गतेसम्म सञ्चालन भएको अभियानमा पहिलो दिन ५० जना, दोस्रो दिन ११० जना, तेस्रो दिन २५२ जना र चौथो दिन २३० जनाले सेवा प्राप्त गरेका थिए।

अभियानको पहिलो दिन ३७ वटा, दोस्रो दिन ३२ वटा, तेस्रो दिन ३७ वटा र चौथो दिन ३२ वटा सवारीसाधन प्रयोग गरिएको थियो। चार दिनमा दैनिक प्रयोगको हिसाबले कुल १३८ सवारीसाधन सञ्चालन भएका थिए। अभियानमा हालसम्म ५० जना राइडर संलग्न रहेको संयोजक राईले जानकारी दिएका छन्।

अभियानअन्तर्गत साकेला गाउँपालिका, रावाबेँसी, केपिलासगढी, दिप्रुङ सापातेल हुँदै भोजपुरको टेम्केमैयुङसम्म सेवा विस्तार गरिएको थियो। भौगोलिक विकटता र लामो दूरीका बाबजुद राइडरहरूले सेवाभावका साथ अभियानलाई सफल बनाउन योगदान दिएका थिए।

संयोजक राईका अनुसार यो अभियान वि.सं। २०८१ सालदेखि नै निःस्वार्थ तथा विशुद्ध सामाजिक भावनाका साथ सञ्चालन हुँदै आएको छ। अभियानका लागि राज्यबाट कुनै पनि आर्थिक सहयोग नलिइएको र सामाजिक मन भएका व्यक्तिहरूबाट स्वेच्छिक सहयोग प्राप्त भइरहेको उनले बताएका छन्।

कतिपय सहयोगदाताले तिहारसम्ममा सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएकाले तिहार विशेष अभियान सम्पन्न भएपछि अभियानमा भएको सम्पूर्ण खर्च तथा प्राप्त सहयोगको विवरण सार्वजनिक गरिने राईले जानकारी दिएका छन्। समय अभावका कारण हाललाई सचिवालयमै उपस्थित भएर सहयोग प्रदान गर्ने दाताहरूको विवरण मात्र सार्वजनिक गरिएको उनको भनाइ छ।

अभियानका क्रममा सबैका माग तथा अनुरोधलाई शतप्रतिशत सम्बोधन गर्न नसकिएकोप्रति क्षमायाचना गर्दै संयोजक राईले आगामी तिहार विशेष अभियानमा भएका कमजोरी सुधार्न अधिकतम प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

चेलीहरूप्रति माया, सम्मान र सद्भाव अभिव्यक्त गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले सञ्चालित यस अभियानको दशैँ चरण सम्पन्न भएसँगै आयोजकले तिहार विशेष अभियानलाई थप व्यवस्थित र प्रभावकारी बनाउने तयारी गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७