कांग्रेसमा कुनै प्यानल छैन, स्वतन्त्र विवेकले मतदान गर्नुस् : गगन थापा


२०८३ असोज २३ शुक्रबार ०९:३१ बजे
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारको सूची प्रचार गरिएको भन्दै त्यस्ता सूचीबाट भ्रममा नपर्न महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका छन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि मतदान भइरहेका बेला थापाले आफ्नो नाम जोडिएका सूचीलाई आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझ्न आग्रह गरेका हुन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले केन्द्रीय कार्यसमितिको निर्वाचन पार्टीभित्रको स्वस्थ आन्तरिक लोकतान्त्रिक प्रक्रिया भएको उल्लेख गरेका छन्। उनले यसपटक कुनै पनि प्यानल वा गुट नरहेको स्पष्ट पारेका छन्।

आफ्नो नाम जोडेर उम्मेदवारहरूको सूची प्रचारप्रसार भइरहेको विषयमा स्पष्ट पार्दै उनले त्यस्ता अफवाहमा नलाग्न र प्रचारका आधारमा भ्रमित नहुन प्रतिनिधिहरूलाई अनुरोध गरेका छन्।

थापाले महाधिवेशन प्रतिनिधिहरूलाई कुनै पनि भ्रम वा प्रभावमा नपरी पार्टीको सर्वोपरि हितलाई ध्यानमा राख्न आग्रह गरेका छन्। प्रतिनिधिहरूले आफ्नो स्वतन्त्र विवेक, मूल्याङ्कन र विश्वासका आधारमा मतदान गर्नुपर्ने उनको भनाइ छ।

केन्द्रीय कार्यसमिति चयनका लागि मतदान प्रक्रिया सुरु भइसकेको सन्दर्भमा थापाले प्राविधिक कारणले निर्वाचन एक दिन ढिलो भएको उल्लेख गर्दै प्रतिनिधिहरूमा पर्न गएको असुविधाप्रति क्षमासमेत मागेका छन्।

प्रतिनिधिहरूको विवेकपूर्ण निर्णयले पार्टी संगठनलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्दै उनले निर्वाचन प्रक्रियामा मर्यादित, संयमित र उत्साहपूर्ण सहभागिताका लागि आग्रह गरेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७