बिचौलियाको बयानकै भरमा कांग्रेसलाई बदनाम गर्न खोजियो : विश्वप्रकाश शर्मा
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बिचौलियाको भनाइलाई आधार बनाएर पार्टी र नेताहरूविरुद्ध आरोप लगाउनु उचित नभएको बताएका छन् ।
नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले पूर्वसभापति शेरबहादुर देउवाको टिप्पणीलाई लक्षित गर्दै बिचौलियाले दिएको बयानकै आधारमा करोडौँ रुपैयाँ लेनदेनको आरोप लगाउनुको औचित्यमाथि प्रश्न उठाए ।
सामाजिक सञ्जालमा आएका अपुष्ट सूचनाका आधारमा नेताहरूको छवि बिगार्ने प्रयास भइरहेको उनको भनाइ छ । ‘एउटा बिचौलियाले कहीँ भन्यो अरे। त्यसैका आधारमा यति खायो रे, उति बुझायो रे, यति करोड बुझायो रे भनेर फेसबुकमा लेखेर हुन्छ ?’ उनले प्रश्न गरे ।
आफू र पार्टी सभापति गगन थापालाई जोडेर लगाइएका आर्थिक लेनदेनसम्बन्धी आरोपको पनि शर्माले खण्डन गरे ।
थापा मन्त्रीका रूपमा आठ–नौ महिना मात्रै जिम्मेवारीमा रहेको र आफू सांसद मात्र बनेको उल्लेख गर्दै उनले करोडौँ रुपैयाँ बुझाएको भन्ने आरोपको आधार मागे । पटकपटक सत्तामा पुगेका नेताहरूको सन्दर्भमा भने त्यस्तो रकम लेनदेनको सम्भावनाबारे प्रश्न उठ्न सक्ने उनको तर्क थियो ।
बिचौलियाको भनाइ आफैँमा प्रमाण हुन नसक्ने भन्दै शर्माले कानुनी प्रक्रियाको उदाहरणसमेत दिए ।
बैंक डकैतीमा पक्राउ परेको व्यक्तिले कसैको नाम लिँदैमा त्यसलाई अदालतले प्रमाणका रूपमा स्वीकार गर्छ कि गर्दैन भन्ने प्रश्न गर्दै उनले अपुष्ट दाबीका पछि लाग्न नहुने बताए । ‘एउटा बिचौलियाले कहीँ भन्यो अरे भन्दैमा त्यसैको हुइँयामा कुद्नु हुँदैन,’ उनले भने ।
यसैबीच शर्माले कांग्रेसको विशेष महाधिवेशनदेखि १५औँ महाधिवेशनसम्मका प्रक्रिया पार्टीको विधान, विधि र संविधानअनुसार इमानदारितापूर्वक सम्पन्न भएको दाबी गरे ।
राष्ट्रिय आवश्यकता र बदलिँदो परिस्थितिका कारण पार्टीलाई नयाँ ढङ्गले अघि बढाउनुपर्ने अवस्था आएको उनको भनाइ थियो ।
‘ढुक्क मान्नुहोला, नेपाली कांग्रेस पार्टीको विशेष महाधिवेशन गरेर १५औँ महाधिवेशनसम्म पुग्दै गर्दा पार्टीको विधि, विधान, प्रक्रिया, संविधान सबै कुराबमोजिम इमानदारितापूर्वक सबै काम भएको छ,’ उनले भने ।
सभापति गगन थापाको नेतृत्वमा पार्टी योजनाबद्ध रूपमा अघि बढिरहेको उल्लेख गर्दै शर्माले संगठनलाई चुस्त, व्यवस्थित र बलियो बनाउन नेता तथा कार्यकर्तालाई सक्रिय हुन आग्रह गरे ।
विशेषगरी काभ्रे कांग्रेसले आफ्नो संगठनको आधार बलियो बनाउनुपर्ने उनले बताए । पार्टीका नेता तथा कार्यकर्तालाई अनावश्यक तनाव नलिई अध्ययन, मेहनत र आत्मविश्वासका साथ संगठन निर्माणमा जुट्न पनि शर्माले आग्रह गरे।
.gif)

.png)




