नबिल बैंकको अध्यक्षमा पुनः निर्वाण चौधरी : १५.८० प्रतिशत लाभांश पारित
काठमाडौं : नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
बिहीबार काठमाडौँको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको साधारणसभाले लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीको अध्यक्षतामा सम्पन्न साधारणसभाले ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
साधारणसभाले अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीका लागि ८ प्रतिशत लाभांशसमेत पारित गरेको छ। साधारणसभाबाट पारित ५ प्रतिशत बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३३ अर्ब ४० करोड रुपैयाँभन्दा बढी पुग्ने बैंकले जनाएको छ।
७ अर्ब ९१ करोड खुद नाफा
यसैबीच नबिल बैंकले आर्थिक वर्ष २०८२/८३ मा ७ अर्ब ९१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको जनाएको छ। समीक्षा अवधिमा निक्षेप ६९ अर्ब ६७ करोड रुपैयाँ अर्थात् १३.०६ प्रतिशतले बढेर ६ खर्ब २ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ।
त्यस्तै, कर्जा तथा सापटी ५१ अर्ब ६८ करोड रुपैयाँ अर्थात् १२.१५ प्रतिशतले बढेर ४ खर्ब ७६ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। बैंकको वासलातको आकारसमेत १५.३८ प्रतिशतले बढेर ७ खर्ब ३४ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ।
चौधरीको अध्यक्षतामा सञ्चालक समिति
यसैगरी साधारणसभाले संस्थापक शेयरधनीतर्फबाट निर्वाणकुमार चौधरी, मलय मुखर्जी र सइद मन्सुर मुस्तफालाई सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ।
सभामा अध्यक्ष चौधरीले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै बैंकिङ सेवालाई आधुनिकीकरण र विस्तार गर्दै आएको बताएका थिए।
उनले बैंकले शेयरधनी, ग्राहक, नियामक निकाय, कर्मचारी तथा अन्य सरोकारवालाको अधिकार र चासोलाई ध्यानमा राख्दै सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत सक्रिय रूपमा काम गरिरहेको बताए।
नबिल बैंकले देशभर २६२ शाखा र ३१६ एटिएममार्फत सेवा दिँदै आएको छ। बैंकका अनुसार २८ लाखभन्दा बढी ग्राहकले बैंकिङ सेवा प्रयोग गरिरहेका छन्।
चार दशकदेखि बैंकिङ सेवा दिँदै आएको नबिल बैंकले डिजिटल बैंकिङतर्फ एनबैंक सञ्चालनमा ल्याएको छ। बैंकले सन् २०३० सम्म ‘एआई रेडी बैंक’ बन्ने लक्ष्यसमेत अघि सारेको जनाएको छ।
बैंकले आफ्नो भिजन तथा मिसनलाई परिमार्जन गर्दै ट्रष्ट, ट्रान्सपरेन्सी, ट्यालेन्ट, टेक्नोलोजी र ट्रान्सफरमेसनलाई आधार बनाएर अघि बढ्ने नीति लिएको जनाएको छ।
साधारणसभा सम्पन्न गर्न सहयोग गर्ने शेयरधनी, नियामक निकाय, ग्राहक, कर्मचारी तथा अन्य सरोकारवालाप्रति बैंकले आभार व्यक्त गरेको छ।
.gif)

.png)


