२० जना प्रहरीलाई श्रव्यदृश्य तालिम


२०८३ असोज २२ बिहीबार १७:०३ बजे

काठमाडौं : नेपाल प्रहरीका २० जना कर्मचारीले श्रव्य दृश्य सामग्री निर्माणसम्बन्धी आधारभूत तालिम लिएका छन्।

नेपाल प्रहरी प्रधान कार्यालयको श्रव्य दृश्य शाखामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगन्जको आयोजनामा सञ्चालित आठौँ समूहको ३० दिने तालिममा २० जना प्रहरी कर्मचारी सहभागी भएका थिए।

तालिमको बिहीबार समापन गरिएको छ। त्यस अवसरमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेले प्रशिक्षार्थीलाई प्रमाणपत्र तथा प्रशिक्षकलाई प्रशंसापत्र प्रदान गरे।

कार्यक्रममा प्रवक्ता काफ्लेले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा प्रयोग गर्दै श्रव्य दृश्य सामग्री निर्माणमा थप व्यावसायिक बन्न प्रशिक्षार्थीलाई निर्देशन दिए।

उनले विभागीय गतिविधि तथा अन्य सूचना प्रवाहमा सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै प्रहरीका गतिविधिलाई प्रभावकारी रूपमा सम्प्रेषण गर्न गुणस्तरीय श्रव्य दृश्य सामग्री निर्माणमा ध्यान दिनुपर्ने बताए।

तालिम संयोजक प्रहरी निरीक्षक रन्जु केसीका अनुसार तालिममा प्रहरी वरिष्ठ नायब निरीक्षक एक, प्रहरी सहायक निरीक्षक तीन, प्रहरी वरिष्ठ हवल्दार दुई, प्रहरी हवल्दार दुई, प्रहरी सहायक हवल्दार चार र प्रहरी जवान आठ जना सहभागी थिए।

कार्यक्रममा प्रशिक्षक पुरुषोत्तम घिमिरे र प्रशिक्षार्थी प्रहरी वरिष्ठ नायब निरीक्षक मनकुमारी तामाङले तालिमका अनुभव सुनाएका थिए। 

सो अवसरमा श्रव्य दृश्य आधारभूत तालिमको आठौँ समूहका प्रशिक्षार्थीले तयार पारेको जनचेतनामूलक श्रव्य दृश्य सामग्रीसमेत प्रस्तुत गरिएको थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७