कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान
७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नेतृत्व
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ।
मतदान बिहान १० बजेदेखि साँझ ६ बजेसम्म हुने निर्वाचन समितिले जानकारी दिएको छ।
महाधिवेशनमा सहभागी ७ हजार २५५ जना प्रतिनिधिले सभापतिसहित २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन्।
सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका नेताहरूको अन्तिम नामावली निर्वाचन समितिले बुधबार साँझ सार्वजनिक गरिसकेको छ।
यसअघि बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका रहेपनि भारी वर्षा तथा केही प्राविधिक कारण देखाउँदै मतदानको समय तीन घण्टा पछि सारिएको हो।
संशोधित कार्यतालिकाअनुसार बिहान १० बजेदेखि मतदान सुरु हुने केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले बताए।
प्रतिनिधिको प्रदेश तथा समूहगत प्रतिनिधित्वका आधारमा विभिन्न मतदान केन्द्र तोकिएका छन्। निर्वाचन समितिका अनुसार बागमती प्रदेशका प्रतिनिधिले राष्ट्रिय सभा गृहमा रहेको मतदान केन्द्र ‘क’बाट मतदान गर्नेछन्।
त्यस्तै, खुलामञ्चमा रहेको मतदान केन्द्र ‘ख’मा कोशी प्रदेश तथा तराई–मधेस समूहका प्रतिनिधिका लागि मतदानको व्यवस्था गरिएको छ।
गण्डकी प्रदेशका प्रतिनिधिले हिमाली हलबाट तथा मधेश प्रदेशका प्रतिनिधिले तराई–मधेस हलबाट मतदान गर्नेछन्।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थातर्फका प्रतिनिधिले खुलामञ्चस्थित पहाड हलबाट मतदान गर्ने निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिले मतदानस्थलमा पुगेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरेको छ। मतदानअघि प्रतिनिधिको परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ।
निर्वाचन आचारसंहिताअनुसार मतदानस्थलमा मोबाइल फोनलगायत निषेधित सामग्री लिएर प्रवेश गर्न पाइने छैन।
प्रतिनिधिले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेपछि मात्रै मतदान गर्न पाउनेछन्।
उम्मेदवारी दर्ता, दाबी–विरोध र उम्मेदवारी फिर्ताको प्रक्रिया यसअघि नै पूरा भइसकेको छ। त्यसपछि निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको हो।
आज हुने मतदानबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित विभिन्न पदका केन्द्रीय सदस्य चयन हुनेछन्।
मतदान सकिएपछि मतगणना सुरु गरिने र गणना सम्पन्न भएपछि निर्वाचन परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।

.gif)

.png)


